एकैदिनमा १४ अर्बले घट्यो निक्षेप संकलन, कुन सूचक कस्ता ?


काठमाडौं – साउन लागेयता बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलनमा केही गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ३५ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन ७ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ४९ अर्ब निक्षेप संकलन भएकोमा साउन ८ गते ६४ खर्ब ३५ अर्ब संकलन भएको हो । सो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा एक दिनमा १४ अर्बले निक्षेप संकलन घटेको छ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि १३ अर्बले घटेको छ। असार ७ गते ५७ खर्ब १६ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले ८ गते भने ५७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका छन्। त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ३ अर्बले घटेको छ। सोमबारसम्म ५१ खर्ब ४१ अर्ब प्रवाह भएकोमा मंगलबार ५१ खर्ब ३८ अर्ब कर्जा प्रवाह भएको छ।

सो समयावधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह पनि ३ अर्बले नै घटेको छ। सोमबारसम्म ४५ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले मंगलबार ४५ खर्ब ४५ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.११ बाट बढेर ७८.१५ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको देखाएको छ ।