को हुन् ग्लोबल आईएमई बैंकका नवनियुक्त सीईओ सुरेन्द्रराज रेग्मी ?

को हुन् ग्लोबल आईएमई बैंकका नवनियुक्त सीईओ सुरेन्द्रराज रेग्मी ?


काठमाडौं– भदौ १ गतेदेखि लागू हुने गरि ग्लोबल आईएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । उनले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् । ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।

रेग्मी हाल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यररत थिए । उनले बैंकको प्रमुख सूचना अधिकारीका साथै फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष र बैंकको प्रतिनिधित्व गर्दै नेशनल बैंकिङ्ग इन्स्टिच्युटको सञ्चालकको रुपमा पनि काम गरिसकेका छन् ।