आइटीमा समस्या आउँदा विश्वका धेरै ठाउँमा उडान रद्द


काठमाडौं – आइटीमा समस्या देखिदा विश्वभर धेरै विमानस्थलहरूका उडान रद्द भएका छन्। बेलायती, अमेरिकी, तथा रुसी मिडियाकाअनुसार, कयौँ उडानहरू रद्द हुनुका साथै सञ्चार सेवाहरूसमेत अवरुद्ध भएका हुन्।

स्काइ च्यानलले आफ्नो लाइभ प्रसारण गर्न नसकेको र आरटीका अनुसार अमेरिका, जर्मनी, स्पेन, बेलायतलगायतका देशहरूमा समस्या देखिएको बताइएको छ। बैंक तथा सञ्चार क्षेत्रहरूमा पनि समस्या आएको छ तर यसको कारण प्राविधिक वा ह्याकिङ आक्रमण हो भन्ने स्पष्ट गरिएको छैन। रुस तथा चीनमा भने यस्तो समस्या आएको छैन।

अमेरिकन एयरलाइन्सले क्राउडस्ट्राइक साइबरसेक्युरिटी सफ्टवेयरको समस्याको कारणले उडानहरू उडान नगरेको बताएको छ। एक ठूलो टेक्नोलोजी आउटेजले धेरै देशहरूमा व्यवसाय र संस्थाहरूलाई बाधा पुर्याएको अनुमान गरिएको छ। यसले गर्दा एयरलाइन्स, सरकारी सेवाहरू, बैंकहरू, सुपरमार्केटहरू, टेलिकम र मिडियामा समस्या देखिएको हो।