दिवा खाजा कार्यक्रमका लागि लायन्स र विश्व खाद्य कार्यक्रमको सहयोग


काठमाडौं – संयुक्त राज्य अमेरिकाको विश्व खाद्य कार्यक्रम र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसीआइएफ) ले नेपाल सरकारको दिवा खाजा कार्यक्रमलाई सहयोग घोषणा गरेको छ।

ती संस्थाले नेपालसहित चार देशका दिवा खाजका कार्यक्रमलाई आज ४० लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग घोषणा गरेका हुन् । उक्त अनुदानबाट नेपालको कर्णाली प्रदेशको सुर्खेत र जाजरकोटका आठ सयभन्दा बढी विद्यालयका कक्षा पाँचसम्मका ९० हजार भन्दाबढी विद्यार्थी लाभान्वित हुने आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेरा, विश्व खाद्य कार्यक्रमका देशीय प्रतिनिधि रोबर्ट कास्का र शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले उक्त अनुदानको घोषणा गरेका हुन् । अध्यक्ष फाब्रिसियाले बालबालिकालाई पौष्टिक र पर्याप्त खानामा नियमित पहुँच दिन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए ।

देशीय प्रतिनिधि कास्काले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रममार्फत आलीदेखि थालीसम्म ताजा पौष्टिक खानाका साथै किसानलाई सामुदायिक खाद्य प्रणालीलाई सुदृढ गराउन लागिपर्ने बताए । एलसीआइएफले अहिलेसम्म अनुदानमार्फत एक अर्ब दुई करोड अमेरिकी डलर (१ खर्ब ६० अर्ब रुपैयाँ) भन्दा धेरै अनुदान सहायता वितरण गरिसकेको जनाइएको छ ।