बैंकपिच्छे ग्राहक पहिचान अद्यावधिक गर्नुपर्ने झन्झट हट्दै

बैंकपिच्छे ग्राहक पहिचान अद्यावधिक गर्नुपर्ने झन्झट हट्दै


काठमाडौं – खाता भएको बैंकपिच्छे व्यक्तिगत विवरण अद्यावधिक गराउनु पर्ने झन्झट हट्ने भएको छ। केन्द्रीय बैंकले चालु आथिर्क वर्ष (२०८१/८२) देखि बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताको सूचना आदानप्रदान गर्ने केन्द्रीय ग्राहक पहिचान प्रणाली (सेन्ट्रलाइज्ड केवाईसी) कार्यान्वयनमा ल्याउने भएसँगै एक ठाउँमा मात्र सूचना अद्यावधिक गरे पुग्ने भएकाे हाे।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा नै ग्राहक पहिचान प्रणाली निर्माण तथा कार्यान्वयनको घोषणा गरेको थियो। तर कार्यान्वयन भएकाे थिएन। अहिले सर्वसाधारणले खाता रहेको बैंकपिच्छे हरेक वर्ष ग्राहक पहिचान (केवाईसी) फारम भर्नुपर्ने झन्झट बेहोर्दै आएका छन्। उक्त समस्या समाधान गर्न राष्ट्र बैंकले सबै वित्तीय संस्थाले प्रयोग गर्न मिल्ने गरी केन्द्रीय ग्राहक पहिचान प्रणाली निर्माण गर्न लागेको हो।

सरकारले सार्वजनिक सेवा लिन आगामी माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेको छ। केन्द्रीय ग्राहक पहिचान प्रणाली स्थापना भएपछि सर्वसाधारणका सूचना उक्त प्रणाली सञ्चालकले अद्यावधिक गर्नेछ। प्रणालीमा आबद्ध भएपछि ग्राहकले छुट्टै परिचय नम्बर पाउँछन्। उक्त नम्बरबाट बैंकहरूले ग्राहकको सूचना अद्यावधिक गर्न सक्छन्।