बीमा रकम लिन आफ्नै पसलमा चोरी, यसरी परे प्रहरीको फन्दामा


चितवन – पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर–६ खोलेसिमल बजारमा बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा विनोद सुनचाँदी पसलका सञ्चालक विनोद सुनारसहित ५ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) काे सहयोगमा अप्रेसन धनानन्द नाममा १८ दिनमा लुटेरा आफै मालिक आफै चोरलाई पक्राउ गर्न सफल भएको हो।

सुनारले गत असार १ गते आफ्नो पसलमा चोरी भएको र पसलबाट अज्ञात दुई जना पुरुष नम्बर नखुलेको मोटरसाइकल चढी आएर हतियार देखाई दुई करोड सत्र लाख चौवन्न हजार चार सय पन्ध्र रुपैयाँ बराबरको सुनचाँदी र हिराको विभिन्न डिजाइनका गरगहनाहरू लुटपाट गरी लगेको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले मुख्य योजनाकार सुनारसहित विनोद सुन चाँदी पसलका मेनेजर (चोरी गर्न सहयोग गर्ने) कालिका नगरपालिका वडा नं. ०७ का विजय विश्वकर्मा, चोरी गर्ने व्यक्ति तनहुँ, म्याग्दी गाउँपालिका वडा नं. ०७ का पूर्ण बहादुर विश्वकर्मा, चोरी गर्ने व्यक्ति बारागढी नगरपालिका वडा नं. ०४ का पवन कुमार पासवान र विनोद सुन चाँदी पसलका सञ्चालक सुनारको मिल्ने साथी (चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने) कालिका नपा, वडा नं. ६ अन्जना पुडासैनी केसीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उजुरीका आधारमा अनुसन्धान गर्दा पसल सञ्चालकमाथि नै शङ्का लागेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको चितवनका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालको नेतृत्वमा जिल्लाकै अर्का प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारी , ईलाका प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक डा .हेम केसी सम्मिलित अनुसन्धान टोली गठन गरी अनुसन्धान गर्दा सुनार स्वंयमले सामान लुकाएर चोरी भयो भन्दै भ्रम फिँजाएको पाइएको छ ।

चितवनका प्रहरी प्रमुख भावेश रिमालले बीमा रकम प्राप्त गर्नका लागि सुनारले योजनाबद्ध रुपमा पसलमा चोरी भयो भनी भ्रम छरेको पाइएको बताउँदै चोरी भएको सामग्री स्थानिय मिल्ने साथी अन्जना पुडासैनी, केसीको घरबाट बरामद गरेको जानकारी दिए। पक्राउ परेका सबैलाई म्याद थप गरी थप अनुसन्धान गर्ने र कानुनबमोजिम कारबाहीको तयारी सुरु भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार विनोद सुनचाँदी पसलका सञ्चालक विनोद सुनार स्वयमले झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाएर बीमा रकम ठगी तथा विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको छ । विनोद सुनारले लुटपाटको लागि पूर्ण बहादुर विश्वकर्मालाई जिम्मा दिएको र पूर्ण बहादुर विश्वकर्मा र पवन कुमार पासवानले रातिको समयमा मोटर साइकलमा आई लुटपाट गरेको र पसलका मेनेजर विजय विश्वकर्माले चोरी गर्न आउनेलाई सहयोग गरेको पुष्टि भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको हाे।

पूर्ण बहादुर विश्वकर्मा र पवन कुमार पासवानले चोरी गरी लगेको सुनका गहनाहरू लुकाउनको लागि विनोदले बताए बमोजिम पुडासैनीलाई दिएको र घटनाको २ दिनपछि अन्जनाको घरमा गई विनोदले उक्त गहनाहरू लिएकाे प्रहरीको अनुसन्धानमा उल्लेख छ ।