काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
उनले सहकारी संस्थाका वचतकर्ताहरुबाट ५९ हजार ५ सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८० को दायित्व एकिन गरी यसमध्ये हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ वचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको दाबी गरे ।
उनले सरकारले २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत वचत फिर्ताको प्रक्रिया अगाडि बढाएको बताए । उनले तीन समस्याग्रस्त सहकारीको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी गरी वचत भुक्तानी गर्ने कार्य सम्पन्न भएको बताए ।
प्रधानमन्त्री दाहालले नेपाल राष्ट्र बैंक समेतको संलग्नतामा सहकारी बैंक लगायत ठूला कारोबार गर्ने ९ संस्थाको अनुगमन कार्यसम्पन्न भइ वित्तीय अवस्था मजबुत पारी सुशासन र प्रभावकारी सञ्चालनको लागि निर्देशन दिएको बताए । उनले छुट्टै नियामक निकाय स्थापना गर्ने,सहकारी कर्जा सुरक्षण कोष स्थापना गर्ने छुट्टै कानूनी प्रक्रिया अगाडि बढाइएको उल्लेख गरे।



About Us
प्रतिक्रिया