कर्जाको ब्याजदर कसरी निर्धारण भएको छ बुझेर मात्र कारोबार गरौँ : राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर कसरी निर्धारण भएको छ बुझेर मात्र कर्जा कारोबार गर्न सुझाव दिएको छ। केन्द्रीय बैंकले मंगलबार वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै कर्जाको ब्याजदर बुझेर मात्र कारोबार गर्न सुझाव दिएको हाे ।

राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको धितोमा ग्राहकलाई कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ। मुद्दती खातामा रकम जम्मा गरेका ग्राहकलाई मुद्दती निक्षेपको अवधिअगावै रकमको आवश्यकता परेमा सोही मुद्दती निक्षेपको धितोमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्न सक्ने व्यवस्था रहेको हो।

यस्तो कर्जामा लाग्ने ब्याजदर मुद्दती निक्षेपमा प्रदान गरिएको ब्याजदरमा के–कति प्रतिशत विन्दुले थप गरी तय गरिने हो वा आधार दरका आधारमा तय गर्ने हो भने के कति प्रिमियम थप गरी तय गरिने हो ? सो सम्बन्धमा सम्बन्धित ग्राहकलाई मुद्दती निक्षेप खाता खोल्दाकै बखत जानकारी दिई निजको लिखित सहमति लिनुपर्ने व्यवस्था रहेको जारी सूचनामा उल्लेख छ।

ग्राहकले सहमति जनाएको भन्दा फरक ढंगले त्यस्तो कर्जाको ब्याजदर कायम गर्न नपाइने केन्द्रीय बैंकले जनाएको छ। साथै, बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा कुनै पनि किसिमको अन्य शुल्क लिन नपाउने व्यवस्था पनि रहेको छ।