विदेशबाट पैसा पठाउँदा औपचारिक बैंकिङ्ग माध्यमको प्रयोग गर्न डेपुटी गर्भनर मिश्रकाे आग्रह

विदेशबाट पैसा पठाउँदा औपचारिक बैंकिङ्ग माध्यमको प्रयोग गर्न डेपुटी गर्भनर मिश्रकाे आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालमा रेमिट्यान्स पठाउँदा औपचारिक बैंकिङ्ग माध्यमको प्रयोग गर्न जोड दिएका छन्। नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले रेमिट्यान्स पठाउँदा औपचारिक बैंकिङ्ग माध्यमको प्रयोगमा जोड दिन आग्रह गरेका हुन्।

उनले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने समेत बताएका छन्।

ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैंकहरू ठूलाठूला लगानीका लागि समेत सक्षम बन्दै गएको बताएका छन्। नेपाली बैंकहरु नेपाल राष्ट्र बैंकको रेगुलेसनमा रहेको बताउँदै नेपाली बैंकमा निक्षेप राख्दा सुरक्षित हुने र तुलनात्मकरुपमा बढी ब्याज पाइने समेत उल्लेख गरे।

उनले ग्लोबल आइएमई बैंकले गैर आवासीय नेपालीहरूलाई बैंकिङ्ग प्रणाली मार्फत नेपालमा पैसा पठाउन वा अध्ययन, भ्रमण तथा अन्य प्रयोजनको लागि अष्ट्रेलिया आउने नेपालीहरूलाई विभिन्न बैंकिङ्ग सेवाहरू उपलब्ध गराउने बताए । कार्यक्रममा २०० बढी गैर आवासीय नेपालीहरुको सहभागिता रहेको थियो।