आगामी आर्थिक वर्षको बजेटले नीजि क्षेत्रको मनोबल बढाएको छ : अध्यक्ष अग्रवाल

आगामी आर्थिक वर्षको बजेटले नीजि क्षेत्रको मनोबल बढाएको छ : अध्यक्ष अग्रवाल


काठमाडौ– नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले बजेट सन्तुलितरुपमा आएको भन्दै नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अगाडि बढाउने घोषणा बजेटमार्फत गरिनु सकारात्मक रहेको बताएका छन्। निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य लिनु निकै राम्रो पक्ष भएको उनको भनाइ थियो। कृषि, पर्यटन, सूचना प्रविधिलगायतलाई रुपान्तरणकारी परियोजनाको रुपमा लिएर कार्यक्रम ल्याइनु बजेटको सबल पक्ष रहेको उनले बताए ।

बौद्धिक सम्पत्तिमाथिको कानुन ल्याउन परिसङ्घले जोड दिँदै आएकामा बजेटले त्यसलाई सम्बोधन गरेको अध्यक्ष अग्रवालले बताए। विभिन्न ऐन तथा नियमावलीमा समयानुकूल परिमार्जन गर्ने बजेटले प्रतिबद्धता जनाएकोप्रति उनले खुसी व्यक्त गरे। बजेटमा घोषणा भएका कार्यक्रम बजेटमै सीमित हुन नहुने उनको भनाइ छ।

‘बजेटमा समावेश कार्यक्रम राम्रो छन्। कार्यक्रम बजेटमा मात्र सीमित नहोस् भन्ने चाहना राखेका छौँ’ अध्यक्ष अग्रवालले भने, ‘बजेट कार्यान्वयनमा निजी क्षेत्र सहकार्य गर्न तयार छ।’ विद्यमान शिथिल अर्थतन्त्रलाई माथि उकास्न राहत तथा सहुलियत प्याकेज आउने निजी क्षेत्रको अपेक्षा भए पनि सो आउन नसकेको उनले बताए।