बैंक तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिमा दिइएको सुविधा अहिलेको बजेटले कटौती गर्याे : अध्यक्ष ढकाल

बैंक तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिमा दिइएको सुविधा अहिलेको बजेटले कटौती गर्याे : अध्यक्ष ढकाल


काठमाडाैं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिमा दिइएको सुविधा अहिलेको बजेटले कटौती गरेको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेटमाथिको छलफल कार्यक्रमा बोल्दै अध्यक्ष ढकालले पहिलेकाे बजेटले दिएको सुविधा अहिलेको बजेटले कटौती गर्दा लगानीकर्तामा नकारात्मक असर पर्न सक्ने बताए । बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न सके अर्थतन्त्रमा देखिएका समस्या यथाशीघ्र समाधान हुने विश्वाससमेत उनले व्यक्त गरे।

ढकालले बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय सकारात्मक भएको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए। ससाना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्ने जस्ता कार्यक्रम निजी क्षेत्रको सुझावअनुसार नै बजेट आएकाे अध्यक्ष ढकालले बताए।

‘बजेटले दिएको मार्ग निर्देशलाई प्रभावकारी कार्यान्वयन गर्ने दिशातर्फ अगाडि बढ्न सक्नुपर्छ। यसले अर्थतन्त्रलाई चलायमान बनाउँदै लैजान्छ’, अध्यक्ष ढकालले भने। आर्थिक एजेन्डामा सबै दलहरूलाई एकै ठाउँमा ल्याउने र सामूहिक प्रतिबद्धता खोज्ने विषय बजेटमा राखिनु सकरात्मक रहेको उल्लेख गर्दै उनले बजेट भाषणको सुरूमै आर्थिक सुधार गर्ने विषय उठाइँदा सरकारको प्राथमिकता झल्केको दाबी गरे। नेपालमा लगानीको वातावरण भएन भन्ने कुरा चिर्नका लागि लगानी सम्मेलन आयोजना भएको ढकालले बताए। यसका लागि आठ वटा कानुन परिवर्तन गर्ने विषय सबै राजनीतिक दलका साझा एजेण्डा बनेको स्वागतयोग्य काम रहेको उनको भनाइ थियो।