जेठ १९ गते साइकल र्‍याली आयोजना गर्दै सांग्रिला बैंक

जेठ १९ गते साइकल र्‍याली आयोजना गर्दै सांग्रिला बैंक


काठमाडौं– सांग्रिला डेभलपमेन्टले बैंकले विश्व वातावरण दिवसको अवसरमा जेठ १९ गते शनिबार साइकल र्‍याली आयोजना गर्ने भएको छ । बैंकले ‘इन्धन बचाऔं, वातावरणा जोगाऔं’ भन्ने नाराका साथ साइकल र्याली आयोजना गर्न लागेको हो । 

र्‍यालीमा वातावरणप्रेमी सबैले सहभागी हुन पाउने बैंकले जनाएको छ। उक्त साइकल र्याली जेठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानो गौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ। 

बैंकका चिफ अपरेटिङ्ग अफिसर अपूर्व प्रसाद जोशीले भने,‘हामी कार्यक्रम सुरु हुनुभन्दा अगाडि रुटबारेमा जानकारी गराउँछौँ। करिब १० किलोमिटरको यात्रा तय गरेपछि हामी सानो गौचरनमै आएर यात्रा टुङ्गग्याउने छौँ, कार्यक्रमलाई लिएर धेरै सकारात्मक प्रतिक्रियाहरु आइरहको छ।’

र्‍यालीको आयोजना गर्नुको मुख्य उद्देश्य वातारण जोगाउनका लागि निजी क्षेत्रमा जनचेतना जगाउनु रहेको छ । उनले भने, ‘सबै दिन साइकलमा आउन नसके पनि, हप्तामा एक दिनमात्र साइकल चढ्दा पनि वातावरणीय प्रतिकुलता हटाउन मद्दत पुग्छ, साथै स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको छ ।’

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागिएको हो।  सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल  तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ। 

बैंकले २०७९ सालदेखि वर्षेनि वातावरण दिवसको अवसरमा साइकल र्‍याली गर्दै आएको छ । पहिलो संस्करण २०७९ मा बैंकका कर्मचारी र परिवारका सदस्यहरुमात्र मिलेर साइकल र्‍यालीको आयोजना गरेको थियो । जसमा १५० जनाको हारहारीमा सहभागिता रहेको थियो । दोस्रो संस्करण २०८० मा सर्वसाधरण सबैका लागि र्‍यालीमा सहभागी हुन खुल्ला गरिएको थियो । जसमा ५०० जनाभन्दा बढीको सहभागिता रह्यो । यो तेस्रो संस्करण आउन केही दिन बाँकी रहँदा १३०० जना बढीले नाम दर्ता गराइसकेको बैंकले जनाएको छ।