आज आर्थिक वर्ष २०८१\८२ को वार्षिक बजेट आउँदै

आज आर्थिक वर्ष २०८१\८२ को वार्षिक बजेट आउँदै


काठमाडाैं – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आज आयव्ययको अनुमानित विवरण अर्थात् बजेट  प्रस्तुत गर्दैछ । आज दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने  कार्य तालिका रहेको छ।  

संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरू बस्नेछन् । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने गरी सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको हो। 

यसै गरी सवा ४ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ। प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो।

अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले यस पटक बजेटमार्फत नयाँ कार्यक्रमभन्दा पनि पुराना र क्रमागत आयोजनालाई प्राथमिकता राखेर त्यसको स्रोत सुनिश्चिततामा जोड दिने बजेट सार्वजनिक हुँदैछ । सरकारले १९ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।