इजरायलमा न्यारोबडी जहाज मर्मत गर्न ढिलाई भएको छानविन गर्न उपसमिति गठन

इजरायलमा न्यारोबडी जहाज मर्मत गर्न ढिलाई भएको छानविन गर्न उपसमिति गठन


काठमाडौं– नेपाल एयरलाइन्स व्यवस्थापनले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाईबारे छानबिन गर्न उपसमिति गठन गरिएको छ । निगमको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको हो ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा वैशाख २३ मा बसेको सञ्चालक समिति बैठकले निगमको जहाजको इन्जिन इजरायल एरो स्पेस इन्डस्ट्रीमा मर्मतसम्भार गर्न पठाएकामा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवं अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । निगमको ९ एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको थियो ।

निगमले जहाज ल्याए लगत्तै एक विज्ञप्ती निकाल्दै आफ्नो प्रयास पछि जहाज नेपाल ल्याइएको जनाउनुका साथै मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याका अतिरिक्त इञ्जिनभित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इञ्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदनअनुसार बजारमा सोसँग सम्बन्धित पार्टपुर्जाको अभाव भएकाले मर्मतसम्भार कार्यमा केही ढिलाइ हुन पुगेको जनाएको थियो । जहाजको इञ्जिन मर्मतमा ढिलाइ हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौताअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने पनि भनेको थियो ।