बैंकिङ्ग कसुरका घटना बढे

बैंकिङ्ग कसुरका घटना बढे


नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बैंकिङ्ग कसुरका घटना बढ्दै गएका छन् । विगत वर्षमा न्यून मात्रमा बैंकिङ कसुरका घटना प्रहरीकहाँ आउने गरेकामा अहिले सो सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही वैशाख १५ गतेसम्ममा ५० वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन् । आव २०८९/८० मा २३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए। दर्ता भएका बैंकिङ्ग कसुरका सबैजसो मुद्दा चेक अनादरका छन् ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप छैन् वा निक्षेप भए पनि पर्याप्त छैन् भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बन्धित बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको ठहर्छ भने चेक अनादर भएको मानिन्छ । चेक अनादर भएको छ महिनाभित्र चेक पाएको व्यक्तिले अदालतमा मुद्दा दायर गर्नुपर्छ। दाबी प्रमाणित भएको खण्डमा अदालतले बिगो र त्यसबमोजिम जरिवाना गर्नसक्ने प्रावधान रहेको प्रहरी उपरीक्षक रेग्मीले बताए।

चेक अनादरका मुद्दा ह्वात्तै बढ्नुमा प्रमुख कारण आर्थिक सङ्कट हो। कोभिड–१९ पछि रोजगारी र व्यवसायमा परेको असर अहिले देखिन थालेको छ। आर्थिक सङ्कटका कारण लेनदेनमा अविश्वास र शङ्का बढ्दा बैंकिङ्ग कसुरका घटना बढेका प्रहरी उपरीक्षक रेग्मीले बताए। आर्थिक कारोबारमा विश्वास कम हुँदै जाँदासमेत यस्ता घटना बढेका हुनसक्ने उनको भनाइ छ। कसैलाई व्यक्तिगत रूपमा दिएको रकम फिर्ता आउने सुनिश्चितता नहुने अवस्था देखेपछि तथा विश्वास कम हुँदै जाँदा मुद्दा दर्ता गर्न आउनेको सङ्ख्या बढी छ।