बारा प्रहरीद्वारा दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ

बारा प्रहरीद्वारा दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ


काठमाडौं– बारा प्रहरीले दुई सय १६ किलो लागू औषध गाँजासहित दुई जना र ट्रकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ना ५ ख ७५५२ नम्बरका ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–३ घर भई हाल बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने आकाश भन्ने दीपक कोईराला र ट्रकमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने जीवन घलान रहेका छन्।

अस्थायी प्रहरी पोस्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी नियन्त्रणमा लिएकाे हाे।

लागू औषध गाँजा बरामद गरी दुवै जना सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बाराका प्रहरी प्रमुख/ प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

यसका साथै बारा प्रहरीले तीन वर्षको कार्य विवरण पनि  सार्वजनिक गरेको छ। सार्वजनिक विवरणमा आर्थिक वर्ष २०७८/७९ मा चोरी निकासी /पैठारीमा २ करोड ४३ लाख ८९ हजार २ सय ६२ रुपैयाँको भन्सार बुझाएको छ भने ११ जना मानिसलाई पक्राउ गरेको थियो ।

यस्तै, प्रहरीले ०८०/०८१ मा अहिले हालसम्म ४८ करोड ४१ लाख ५४ हजार ८ सय ५७ रुपैयाँ बराबरको समान भन्सार कार्यालयमा बुझाएको छ । यस अवधिमा २० जना मानिसहरूलाई पक्राउ गरेको छ । प्रहरीले ०७९/८० मा १२ करोड ६१ लाख २३ हजार ९ सय ८९ रुपैयाँ बराबरको भन्सार बुझाएको छ भने १६ जना मानिसलाई पक्राउ गरेको थियो । प्रहरीले आर्थिक वर्ष ०८०/०८१ मा हालसम्म १ हजार २ सय ८ किलो ७३ ग्राम लागु औषध बरामद गरेको छ । ४२ वटा मुद्दा दर्ता र ५८ जना मानिसहरूलाई पक्राउ गरिएको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, स्रोत नखुलेको ३८ लाख ९ हजार रुपैयाँ बरामद गरिएको छ भने चार वटा हुन्डी कारोबार सम्बन्धी मुद्दा दर्ता भएको छ ।हालसम्म हुन्डी कारोबारमा नेपाली ५ जना र भारतीय ३ जना पुरुष पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।