काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’ लाई सम्बोधन गर्दै महतले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठुला देश छिमेकी भएकाले बजारको समस्या नरहेको, उद्योग सञ्चालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लैजान पाउने कानुनी व्यवस्था रहेको लगायत कारण देखाउँदै विदेशीहरूलाई नेपालमा ठुलो मात्रामा लगानी ल्याउन आग्रह गरेका हुन् ।
पूर्व अर्थमन्त्री डा. महतले पार्टीहरूबीच राजनीतिक विचारधारा फरक भए पनि सम्बन्ध राम्रो रहेको भन्दै लगानीकर्ताले अन्योलमा रहनुपर्ने अवस्था नरहेको बताए। ‘विचारधारा फरक भए पनि हामी एकताबद्ध भएर काम गर्छौं । सरकारमा भए पनि नभए पनि हाम्रो एउटै धारणा हुन्छ । नीति र कानुनमा स्थिरता छ,’ उनले भने, ‘लगानीमैत्री वातावरणका लागि कानुनमा सुधार गरिएको छ। लगानीका लागि यहाँ धेरै अवसर छन् । त्यसैले अवसर सदुपयोग गर्न आग्रह गर्छौँ ।’
उनले लगानीका क्षेत्र समेत औँल्याए। जलविद्युतलाई महतले लगानीको मुख्य क्षेत्र भनेका छन् । ‘बजारको समस्या छैन । भारतले १० हजार मेगावाट लिने गरी दीर्घकालीन सम्झौता गरेको छ भने बंगलादेश पनि नेपालबाट विद्युत् लैजान इच्छुक छ,’ उनले भने । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् लाने गरी गत पुस १९ गते दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको थियो। यस्तै बंगलादेशले पनि नेपालबाट विद्युत् लान चाहेको छ।
महतले पर्यटन, कृषि र सूचना प्रविधि पनि लगानीकर्ताका लागि राम्रो क्षेत्र भएको बताए। ‘फरक फरक तापक्रमको भूगोल छ। सांस्कृतिक पक्षमा पनि उस्तै विविधता छ,’ उनले पर्यटनमा लगानी गरेर मुनाफा कमाउन सकिने भन्दै कृषिमा नेपाल अर्ग्यानिक उत्पादनको हब हुन सक्ने बताए। ‘नेपाल अर्ग्यानिक उत्पादनका लागि हब हो। कृषिमा लगानी गर्न चाहनेका लागि नेपालमा स्वागत छ । यो उत्कृष्ट गन्तव्य हो,’ उनले भने, ‘सूचना प्रविधि पनि लगानीको क्षेत्र हो। कोभिडपछिको निर्यातले यसको पुष्टि गरेको छ।’
सूचना प्रविधि क्षेत्रले गत वर्ष ६७ अर्बको सेवा निर्यात गरेको तथ्यांक छ । ‘हामीकहाँ सबैभन्दा तीव्र रूपमा विकास भएको क्षेत्र सूचना प्रविधि हो । यो क्षेत्रलाई प्रोत्साहन गर्न ५० प्रतिशत कर छुट गरिएको छ,’ उनले भने । महतले धेरैजसो उत्पादनका लागि नेपाल नै बजार भएकाले लगानीकर्ताले अलमल गर्नु नपर्ने भन्दै नेपालमा व्यक्तिगत रूपमा सानो लगानीभन्दा पनि व्यावसायिक रूपमा ठुलो लगानीको खाँचो रहेको औँल्याए ।
प्रतिक्रिया