‘बीमा एउटा वित्तीय औजार हो’

‘बीमा एउटा वित्तीय औजार हो’


काठमाडौं–बीमा क्षेत्रमा केही सकारात्मक सुधार देखिए पनि बीमाको पहुँच भने बढ्न सेकेको छैन। बीमालाई लगानीका रूपमा हेर्ने कि जोखिम व्यवस्थापनका रूपमा हेर्ने यो विषयमा पनि केही अन्योलको परिस्थिति देखिन्छ। जीवन बीमालाई थप प्रभावकारी बनाएर बीमितको विश्वास जित्न अझै धेरै कुरामा ध्यान दिन जरुरी छ। बीमाको उपयोगिता नेपालमा अहिले बिस्तार भएको पहुँच लगायतका विषय लगायत यस क्षेत्रका प्रमुख मुद्दाहरूका विषयमा जीवन बीमा व्यवसायमा व्यवसायिकता हुनुपर्छ भन्ने मान्यता राख्ने सानिमा रिलायन्स लाइफ कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलसँग नमुना केसीले गरेको कुराकानीको (भिडियोसहित) सम्पादित अंश:

बीमा जोखिम व्यवस्थापन हो की, लगानी ?

सर्वप्रथम बीमाको कुरा गर्नु अघि अन्य वित्तीय उपकरणको पनि कुरा बुझ्न आवश्यक छ। बीमा भनेको एउटा वित्तीय औजार हो। बजारमा धेरै प्रकारका वित्तीय औजार छन्। एउटा लगानीकर्ताको हिसाबले सही सदुपयोगको लागि विभिन्न माध्यमहरू हेरिन्छ । ग्राहकले बीमालाई पनि लगानीको रुपमा हेरिरहेका हुन्छन्। तर बीमा क्षेत्रलाई नेतृत्व गरिरहेका पक्षहरुले बीमालाई पूर्णरूपमा लगानीको रुपमा हेर्न मिल्दैन । तर ग्राहकको नजरले हेर्ने हो भने यो लगानी नै हो।

बीमा लगानी होइन भनिरहँदा अभिकर्ताहरूले बीमा लगानी हो भनेर बीमा बेचिरहेको अवस्था छ नि ?

ग्राहकको हिसाबले हेर्दा यो लगानी नै हो। बीमा बुझाउन अघि पैसालाई बुझ्न आवश्यक छ । पैसा कसरी व्यवस्थापन गर्ने भन्ने बुझ्न आवश्यक पनि छ। हाम्रो समाजमा बच्चाहरूमा पैसाको जिज्ञासा आयो भने गलत मानिन्छ तर अहिलेको समाजमा पैसा सम्बन्धी हरेक उमेर समूहमा सचेतना हुन आवश्यक छ, त्यसपछि मात्र बीमा बुझ्न सकिन्छ । सबै जनाले आवश्यक खर्च पूर्ति गरेपछि बाँकी रकम कहाँ लगानी गर्ने भन्ने सोच आउँछ । तर यस्तो अवस्थामा सबैको अन्तिम रोजाई बीमा हुन्छ । बीमा कम्पनीहरूले पोलिसी बिक्री गर्न धेरै नै इफोर्ट प्रयोग गरेका हुन्छन् तर पछिल्लो समय धेरै दुखका साथ भित्र्याइएका बीमा पोलिसीहरु सरेण्डर हुने क्रम बढेको छ ।

सरेण्डरलाई घटाउन बीमितहरुलाई के कस्ता प्रोत्साहनका कार्यक्रम गर्न सकिन्छ ?

बीमा क्षेत्र अझै पनि बामे सरिरहेको छ । हामीले धेरै काम गर्न बाँकी छ । अहिलेको नियामक पनि सतर्क भएका छन् । पहिले अभिकर्ताको लाइसेन्स सजिलै पाइन्थ्यो भने अहिले परीक्षा दिनुपर्छ । अब आउने अभिकर्ताहरू पूर्ण रूपमा बीमा सम्बन्धी जानकार भएका व्यक्ति नै आउनुहुन्छ । विगतका वर्षमा बिक्री भएको पोलिसीको तुलनामा आगामी वर्षमा बिक्री हुने पोलिसीको सरेन्डर दर कम हुन्छ ।

वित्तीय साक्षरतामा बीमाको कस्तो भूमिका हुन्छ ?

बैंक तथा वित्तीय संस्थामा हामीले बीमालाई पनि राख्नुपर्छ । बीमा पनि वित्तीय संस्था नै हो। बीमामा पनि पैसाको कारोबार नै हुन्छ । बैंकले डिपोजिटको रूपमा पैसा लिन्छ। हामीले प्रिमियमको रूपमा लिन्छौं। तपाई हामीले हाम्रो पैसा बचत मात्र गरेर वित्तीय रूपमा स्वतन्त्र हुन्छु भन्नु सम्भव छैन । मानौं तपाईँसँग सय रुपैयाँ छ भने यसलाई कसरी सदुपयोग गर्ने भन्ने हाम्रो हातमा हुन्छ । हामीले नेपालमा लगानीको धेरै प्रतिफल खोज्छौं । आज एक लाख लगानी गरेर ६ महिनामा २० लाख प्रतिफल खोज्छौं हामीले कति सम्म जोखिम लगानी वहन गर्न सक्छौं भन्ने आँकलन गरेर त्यही अनुसार लगानी गर्नुपर्छ । यसो गर्दा औसतमा प्रतिफल लिन सक्छौं। अहिले हामी लगानी भनेको नेपाल स्टक मात्र हो भन्ने बुझ्छौ तर यो गलत हो। हामीले हाम्रो कमाइको १० देखी १५ प्रतिशत बीमामा लगानी गर्नुपर्छ। हाम्रो समाजमा मैले कमाएको मेरो होइन भविष्यमा मेरो बच्चाहरूको भनेर सिकाइरहेका हुन्छौं। तर लगानी भन्दा जोखिम व्यवस्थापनको सारथि जुन पछिसम्म काम लाग्ने बीमा हो।

बीमाको पहुँच बढाउने भनियो तर जीवन बीमाको पहुँच धेरै बढ्न सकेन किन होला ?

मेरो अनुभवको आधारमा भन्नुपर्दा मैले ६ वर्ष भयो यस क्षेत्रमा काम गरेको म पहिला म बैकिङ्ग क्षेत्रमा थिए । सुरुमा आएका नयाँ कम्पनीहरूले गर्दा बीमामा बाढी आएसँगै मिससेलिङ्ग भएको हो । अहिले अहिले बीमा नियामकले रोक्नु परिरहेको छ । त्यो क्रममा बीमाको पहुँच बढेको जस्तो देखिएको हो । एकदमै बढेको हो तर खासमा बीमा अहिले राम्रोसँग बेचिरहेको छौं जस्तो लाग्छ । अहिलेको परिस्थितिमा आवश्यकता महसुस गराएर नै बीमा गराइरहेका छौं ।

बीमा गराउन उत्साही भए जस्तै दावी भुक्तानीमा भने आनाकानी गर्ने आरोप छ नि ?

यो वास्तविक हो होइन थाहा छैन । मानौं बीमा गर्दा तपाईँसँग ठुलो रोग छ भने खुलाउनु पर्छ । बीमाको सिद्धान्त भनेको रोगका कारण मृत्यु भएको खण्डमा नखुलाएको रोगले मृत्यु भएमा नखुलाए कै कारण भुक्तानी पाइदैन । एउटा यो कारण भयो अर्को ग्राहकले नबुझ्नु पनि हो । बीमा गरेको दुई वर्षमा आत्महत्या गरियो भने भुक्तानी पाइदैन यो बीमाको नीति नै हो । त्यो कुरा ग्राहकलाई थाहा छैन तर सबै विवरण दिएर कम्पनीमा बुझाइएको छ भने भुक्तानी नपाइने भन्ने हुँदैन् । निर्जीवन बीमाको हकमा मलाई थाहा छैन तर जीवन बीमाको हकमा यस्तो हुँदैन्।

कोरोनाले हामी सबैलाई राम्रो पाठ सिकायो, आगामी दिनमा ठूलो महामारीले जोखिम बढ्दा दाबी भुक्तानीको लागि तपाईँहरूको तयारी के छ ?

बीमाको पनि आफ्नै प्रक्रिया हुन्छ । नेपाली रिइन्स्योरेन्सले बाहिरी रिइन्स्योरेन्स कम्पनीमा बीमा गरेको हुन्छ । निर्जीवन बीमा कम्पनीहरूले बाहिरी देशको बीमा कम्पनीसगँ बीमा गराएका छन् तर जीवन बीमामा यस्तो छैन । यदि भूकम्प आयो भने रिइन्स्योरेन्स यहीँ छ जीवन बीमा पनि यही छ । तर जोखिम कम गर्न नसकिएको अवस्थामा बाहिरका रिइन्स्योरेन्सहरु छन् । ग्राहकहरूले सबै लाइव फण्डमा खर्च गर्नुहुन्छ हाम्रै कम्पनीको कुरा गर्ने हो भने पनि ११ अर्ब लाइव फण्डमा छ ।

लामो समय बैकिङ्ग क्षेत्रमा रहेर काम गर्नुभयो । अहिले बीमा क्षेत्रमा नेतृत्व गर्दै हुनुहुन्छ, यो पाटोलाई कसरी लिनुभएको छ ?

बैंकिङ्ग क्षेत्र र बीमा क्षेत्र पनि वित्तीय औजार नै हो । म बैंकमा काम गरिरहेको भएर सुरुवाती चरणमा बीमा क्षेत्रमा गाह्रो नै भयो। तर बिस्तारै सहज वातावरण भयो आफू जुनसुकै क्षेत्रमा भएपनि नैतिकता र लगाव महत्त्वपूर्ण हो । म सुरुमा रिलायन्समा आए मर्जर भएर सानिमा भयो बिस्तारै बीमाको कामलाई प्रभावकारी बनायौं । मैले धेरै कुरा सिक्न पाए बीमा क्षेत्रमा नयाँ कुरा सिक्न पाइरहेको छु ।

आगामी दिनमा बीमा प्रभावकारी बनाएर बीमितलाई अझैँ राम्रो सेवा दिन कम्पनीको कस्तो योजना छ ?

पहिलो कुरा त हामीसँग १७५ शाखाहरू छन्। सबै ठाउँमा सेवा दिने गरेका छौं । हामीसँग अहिले १२ भन्दा बढी अभिकर्ताहरू छन् । उहाँहरूबाट व्यवसाय ल्याउन सक्छौं । अर्को बीमा साक्षरता कार्यक्रम गरिरहेका छौं । हाम्रोमा सानो–सानो पोलिसी धेरै छ जुन हरेकले किन्न सक्छन्। अन्य कम्पनीको तुलनामा हाम्रो सरेण्डरको केस पनि कम छ।