नेपालमा लघुवित्त क्षेत्र नै असफल : मनिराम ज्ञवाली 

नेपालमा लघुवित्त क्षेत्र नै असफल : मनिराम ज्ञवाली 


काठमाडौं- लामो समयदेखि लघुवित्त संस्थाको बारेमा आन्दोलन हुँदै आएको छ । संस्थाले बढि ब्याजदर असुलेको, ग्रामिण भेगका सोझासाझा मानिसलाई ठगेको जस्ता आरोप लाग्दै आएको छ । एक समूहले त लघुवित्त संस्था विरुद्धको संघर्ष समिति समेत बनाएर संस्था लघुवित्त विरुद्ध आवाज उठाउँदै आएका छन् । लघुवित्त संस्थाको बारेमा आन्दोलन गर्दै आएका पीडितहरुले लघुवित्तलाई  कसरी हेरेका छन् । ? उनीहरुको आन्दोलनको उद्धेश्य के हो ? यस्तै प्रश्नलाई लिएर लघुवित्त संस्था विरुद्धको संघर्ष समितीका अध्यक्ष मनिराम ज्ञवाली संग बैंकिङ्ग समाचारको लागि रोजिना काप्रीले गरेको कुराकानीको सम्पादित अंशः 

तपाई लामो समयदेखि आन्दोलन गर्दै आउनुभएको छ । छोटकरीमा भन्नुहोस्  तपाईको उद्धेश्य के हो ? 

लघुवित्त संस्था विरुद्धको आन्दोलन सुरुवात  गर्नुभन्दा पहिलेनै मलाई ठुलो चिन्ता लागिरहेको  थियो । यो लघुवित्तको ज्यादतीको  विरुद्धमा कसैले आवज उठाइदिए हुन्थ्यो भनिरहेको थिए । राज्यले के सोचेको हो लघुवित्तहरुले यतिका शोषण गरिरहेका छन् भनेर मैले गम्भिर भएर लघुवित्तको बारेमा  अध्ययन गरे ।अध्ययन पश्चात  मैले लघुवित्त कार्यक्रम आफैमा खराब होइन, लघुवित्त कार्यक्रम निकै राम्रो हो तर संस्थाका सञ्चालकहरुले राष्ट्र बैंकको निर्देशिका राम्रोसँग अध्ययन गर्नुभएन र  संचालकहरुले लघुवित्तको गलत प्रयोग गरे।  भन्ने निष्कर्ष निकाले । 

लघुवित्तका सञ्चालकहरुले राष्ट्र बैंकको निर्देशिका पालना नगरे राष्ट्र बैंकले कारवाही गर्छ नि,  तपाईले यतिका विरोध गर्नुपर्ने कारणचाहि के हो  ? 

राष्ट्र बैंकले लघुवित्तहरु नियमन र अध्ययन गरेको भयो १५ सय मानिसले आत्महत्या गर्न किन बाध्य पारियो ? किन लघुवित्तको ऋण खाएको कारणले गाउँगाउँमा घर खाली छन् त ? लघुवित्तको ऋण खाएको कारण नै किन हजारौं दिदिबहीनीको घरबार उठ्यो ? किन कयौ दिदी बहिनिहरुको आफ्नो श्रीमान संघ सम्बन्ध बिच्छेद भएको छ?  लघुवित्तको कारणले २ लाख दिदीबहिनीहरु इन्डियाको गल्लीमा भौतारिनु भएको छ ? मैले लघुवित्त  सञ्चालकहरुलाई यो प्रश्न गर्छु  । साच्चै लघुवित्त कार्यक्रम सञ्चालन गर्नेगरि उहाँहरुले निर्देशिकामार्फत ‘घ’ वर्गको इजाजत प्राप्त संस्था चलाएको भए स्थिति यस्तै  हुन्थ्यो ? पक्कै हुने थिएन । 

तपाई बुझाउन सक्नुहुन्छ ? तपाईले बुझ्नुभएको छ लघुवित्त कार्यक्रम ? 

मैले बुझेर त विद्रोह गरे । लघुवित्त कार्यक्रम भनेको बंगलादेशमा डा. युनुसले गरिब र विपन्नलाई आर्थिक र सामाजिक रुपान्तरण हुनेगरि ग्रामिण भेगको अर्थतन्त्रको  विकासलाई ध्यानमा राखि आर्थिक  रुपान्तरणकोलागि  प्रयोग गर्ने गरि सुरुवात गर्नुभयो त्यसका लागि  उहाँले ९ वटा नोबेल पुरस्कार पनि पाउनुभयो । त्यसैअनुसार मेरै जिल्लाको तत्कालिन गभर्नर हरिबोल दत्त पन्तले लघुवित्त कार्यक्रम २०४८ मा भित्र्याउनु भयो ।  त्यतिबेला उहाँले  स्वागत योग्य काम गर्नुभएको थियो । २०५५ सम्म लघुवित्त ठिकठिकै भएको देखिन्छ तर  पछिल्लो चरणमा ०६२ /६३ को आन्दोलन पछि लघुवित्त संस्थामा बिचलन आउन थालेको देखिन्छ । व्यवस्थासँगै अवस्था पनि परिवर्तन गर्ने लघुवित्त कार्यक्रमको सोचाई त राम्रो छ गरिब र विपन्नलाई आर्थिक र सामाजिक रुपान्तण गर्ने र गरिबमा वित्तीय पहुँच पुर्याउनुपर्छ भन्ने कुरा ठीक हो तर  त्यो एउटा अवसरलाई टेकेर गाउँगाउँमा गएर जसरी शोषण गरियो त्यो एकदमै गलत भयो । घ वर्गको ट्यागलाई गलत तरिकाले परिचालित गरियो, जनतालाई राष्ट्र बैंकको निर्देशिका राम्रोसंग बुझाईएन  ।

नेपाल राष्ट्र बैंकले नियमन गर्ने संस्थाहरुको बिरुद्ध तपाई यसरी लागिरहँदा कतै तपाई पनि आफ्नो फाइदाको लागि त लागिरहनु भएको  होइन भन्ने खालका प्रश्न पनि आउँछन् ? 

मलाई त यहाँ के फाइदा हुन्थ्यो । मलाई केहि फाइदा चाहिएको छैन । नेपाली जनतालाई फाइदा चाहियो । जनतालाई के चाहियो भने लघुवित्तद्वारा जुन आर्थिक शोषण गरिएको छ, राष्ट्र बैंकको निर्देशिकाले भनेको कुरा  नमानेर जनतालाई जसरि  लुटिएको छ । त्यसको हिसाब किताब  जनताले पाउनुपर्छ । 

यति भनिरहँदा तपाईले पीडित जनताबाट पैसा पनि उठाउँनु भयो भन्ने सुनिन्छ नि ? 

जनताले १००/५० नउठाएर आन्दोलन त कहाँबाट टिक्थ्यो र ? अहिलेसम्म हामीले कुनै दलालहरुको सहयोग लिएका छैनौं । पछिल्लो समय केहीले संस्थागत रुपमा खानेकुराहरु सहयोग गरेका छन् त्यो मात्रै लिएका छौं । हिजोको  पार्टीहरुले जसरी जथाभावी पैसा उठाउँने गरेका छैनौं । हामीले केही अभियान्ताहरुबाट १००/५० उठाएका हौं । आन्दोलनका लागि 

नेपाल राष्ट्र बैंकले कुनैपनि बैैंक वित्तीय संस्थाको काम कार्वाही मन नपरे हामीलाई गुनासो गर्नु भन्दै गुनासो डेक्स नै सञ्चालन गरेको छ त्यहाँ त लघुवित्त को बारेमा केही गुनासो नै आएन भन्ने सुनिन्छ ? तपाईले चाँहि कसरी भन्नु भयो कि लघुवित्तले ठगी गरे ?  

पहिले गुनासो कहाँ राख्ने लघुवित्तका सदस्यहरुलाई थाहा भएन । २ पटकसम्म गएर कुरा राख्याै ।  हामीले आन्दोलन सुरु गरेपछि हामी लघुवित्तका ४/५ जना सीईओहरु र हामी गएर सबैकुरा राख्दा लघुवित्तले यो गर्न पाउँछ भन्दा पाइदैन भन्नुहुन्छ । केही कमी कमजोरी त हुन्छ भन्नु भयो त्यो शाखाको निर्देशकले । पाइदैन भने त कारवाही गर्नुपर्यो नि । 

गुनासो हुँदा पोख्ने ठाउँ राष्ट्र बैंक थियो त तपाईले एक्कासी यतिका जनता सडकमा ल्याउन जरुरी थियो र ? 

राष्ट्र बैंकले के भइरहेको छ हेर्नुपर्दैन ? पछिल्लो समयमा राष्ट्र बैंकले हेर्ने वातावरण नै भएन । आम पीडा भयो गुनासो राखेर केही हुनेवाला छैन भनेर नै विद्रोह गरेको हो । अब जबसम्म राज्यले निकास  दिदैन तबसम्म आन्दोलन चल्छ । 

केहि  लघुवित्त संस्थाले गल्ती गर्यो भनेर लघुवित्त क्षेत्र नै खारेज गर्ने ? तपाई लघुवित्तको विज्ञ हो ? 

मेरो बुझाइमा नेपालमा लघुवित्त क्षेत्र नै असफल भए । त्यसकारण हामीले खारेजको कुरा गरेको । म लघुवित्तको विज्ञ होइन तर  व्यवहारिक रुपले समाजलाई बुझ्ने र बदल्ने विषयमा एउटा विज्ञता हाँसिल गरेको  छु । त्यसकारण खारेजीको माग राखेको हो यस्तो संस्थाहरु  नेपालमा आवश्यक छैन ।  

तपाईले लघुवित्तको विकल्पमा के देख्नुभएको छ ? गाउँका त्यहिँ साहु महाजन ? मिटरब्याजी ? 

पहिले त साहु महाजन आफै साहु महाजन थिए । पछिल्लो समय लघुवित्तका कारण फेरी साहु महाजन पलाएका हुन् । 

भनेपछि ऋण लिनेको गल्ति छैन ? 

लघुवित्तको निर्देशिका जनतासँग थियो र थिएन। ऋण माग्दै जनता राष्ट्र बैंक धाएका हुन् र । लघुवित्त खोज्दै जनता आएका हुन् र । निर्देशिकाको पालना नगरि एक किस्ता ऋण तिर्न नसक्ने जनतालाई बीसवटा संस्थाले कर्जा दिएका छन् त्यस्तो भएपछि उनीहरुलाई  ऋणतिर्न कठिन भएर त्यो किस्ता तिर्न मिटरब्याजी को  शरणमा पुगेका छन्।करिब ८०% मानिस लघुवित्तको कारण मिटर ब्याजमा फसेका छन्।   लघुवित्त संस्थाहरुले  निर्दिशका मुताबिक  गर्नु पर्ने बित्तिय शिक्षाको तालिम दिने ,व्यावसायिक बनाउने,  उत्पादन मुलक ठाउँमा लगानी गर्ने, बजार र बीमा को व्यवस्थापन गरिदिने आदि काम न गरिदिदा यो समस्या आएको हो र निर्देशिका बमोजिम काम नगर्दा लघुवित्त संस्थाहरु असफल भएका हुन ।  

लघुवित्त संस्थाले ऋण लाउ भनेर दिएका हुन् र ? 

उनीहरुसँग राष्ट्र बैंकको निर्देशिका छ । पैसा उनीहरुसँग छ उनीहरु त लुट्नको लागि लाउ भन्दै बाँड्दै हिडेका हुन् नि । चक्रवर्ति ब्याजमा लुट्न, नाफा कमाउन मेरो संस्थाको यस्तो छ भन्दै दिएको छ अनि । सस्तो ब्याज मेरो संस्थामा भन्दै ऋण दिएको छ । अनि जनतालाई फसाएको छ । 

म पनि गाउँकै मान्छे तर मेरो त लघुवित्तमा ऋण छैन त मलाई त थाहा थियो ऋण लिएपछि तिर्नुपर्छ भन्ने आफुलाई  आवश्यक पर्दा लिएको पैसा त तिर्नुपर्यो नि, कि त्यस्तो ऋण तिर्नुपर्दैन ?

तपाईले बुझ्नुभयो होला, तपाईलाई ऋणको आवश्यक परेन होला, तर  ऋण आवश्यक पर्ने त लघुवित्त संस्थाले बनाइदिएका हुन् । १० जनाको समूह खेलाए । त्यहाँ एउटाले ऋण खाएपछि, अरुको बचत फिर्ता नै हुँदैन । त्यस्तो भनेपछि मान्छेले बाध्य भएर ऋण खाएका हुन् । ४/५ प्रतिशत ऋण ब्याजदरमा बचत हुन्छ भनेर उक्साए  । न त कुनै तालिम दिएको छ । निर्देशिका अनुसार कुनै काम नै भएको छैन । कसरी किस्ता असुल्ने भन्ने तिर मात्रै ध्यान दिएको देखिन्छ । जनतालाई पैसा चाहिएको थिएन । जवरजस्ती चक्रवर्ति ब्याज असुल्न पैसा लगानी गरेका हुन् । सबै लघुवित्त उस्तै हुन् । गोरु पनि तारे माले जुन भएपनि जोत्ने हो त्यसरी नै लघुवित्त संस्थाले पनि जोतेका हुन् । के को लागि जोते भन्दा पैसा कमाउनको लागि मुनाफाका लागि। पैसा र निर्देशिका लघुवित्तसँग थियो । ल्याप्चे  पनि लगाउन नजान्ने जनतालाई फसाएकै हुन् । 

१०० मा एक दुई जनालाई राम्रो गरे होलान् या ति सदस्यहरु एक दुईवटा संस्थामा मात्रै खेल्दै हुनुहुन्छ होला । नयाँ सदस्य हुँदा राम्रै फस्टेको देखिन्छ । क्रमश ४,५,६,७ हुँदै गएपछि कुरा बिग्रिने हो  । 

लघुवित्तहरुले १ लाख ऋण लिँदा १ महिनाको किस्ता १० हजार काटिदिन्छन् । ५ हजार विभिन्न नाममा काटिदिन्छन् । त्यो व्यवसायी  केन्द्रीत छैन व्यक्तिगत बनाएका छन् र जम्मा ८५ हजार दिन्छन् । १२ महिना अघि काटेको त्यो १५ प्रतिशत खै ? के जनताको १५ प्रतिशतको  हिसाब हुँदैन ? मासिक किस्ता बुझाउँदा त्यो १५ प्रतिशतको  ब्याज घट्न पर्दैन ? चक्रवर्ती ब्याजमा १२ महिना किस्ता उठाउँने यो त साहु महाजन भन्दा खतरनाक भएन  । त्यसैले लघुवित्त संस्था वैधानिक मिटरब्याजी भए । केन्द्र बचतको नाममा उठाएको ५ रुपैयाँ फिर्ता हुन्न भन्दै लगेका छन् आजसम्म कति सदस्यको ५ रुपैयाँ लगेका छन् । त्यो खर्बौ अर्बौ पैसा कहाँ गयो ? त्यसरी  लुटिएको छ । एक वर्ष नपुगे  नवीकरण गर्न पाइदैन तर तीन तीन महिनामा नविकरण गरिएको छ  । 

यो अराजकताले समस्या समाधान हुन्छ त ?

हामीले कसरी अराजक गर्यौ ? विगत २५ महिनादेखि आफ्नो लुटिएको पैसा हिसाब किताब गर्दिनु पर्र्यो  सरकार भन्दा हामी अराजक हुने कि ? ३२ वर्षदेखि निर्देशिका नमानेर जनता लुट्ने अराजक हुने ? हामीले ऋण तिर्नुपर्दैन भनेका छैनौं हाम्रो हिसाब चाहियो । किन राष्ट्र बैंकको निर्देशिकामा भनेको छ, २०७८ मंसिर ७ भन्दा पहिले ५ लाख र त्यसपछि ७ लाख सामुहिक ऋण लगानी गर्न पाइदैन भनेको छ अनि ४० वटाले दिएका छन् । किन दिए त्यो हाम्रो गल्ति हो ? एउटा व्यक्तिलाई दुईवटा भन्दा बढि संस्थाले र ५ लाख भन्दा बढि लगानी लगाउन पाइने छैन भनेर निर्देशिकाले भनेको छ । साथै ७ लाख भन्दा बढिको सामुहिक कर्जा अहिले तिर्नै पर्दैन किनभने लघुवित्तले त्यस्ता कर्जा शत प्रतिशत नोक्सानीमा लगाएका हुन्छन  । त्यसरी संस्थाले नोक्सानीमा गरेको लगानी जनतासँग माग्न अधिकार उनीहरुलाई छैन । त्यो स्वत खारेज हुन्छा  । त्यसको  हिसाब नै हुन्न । 

सरकारले त ऋण मिनाहा हुँदैन भनिरहेका छ तर तपाई त ऋण मिनाहा हुन्छ भन्दै हिडिरहनु भएको छ । पछि ऋण मिनाहा नहुदा सबै सदस्य तपाईंको पछि आए के हुन्छ के सोच्नुभएको छ ?

म माथि खनिनुहुन्न । मैले त आत्महत्या गर्न गइरहेका महिलालाई बचाएको छु । मैले गरेर नै आफ्नो न्याय माग्न सक्ने हुनुभएको छ । उहाँहरुले मलाई केही भन्नु हुन्न । अहिले जनताले राज्यसँग न्याय मागिरहेका छन् । पछि लघुवित्त संस्थासँग जनताले आफै न्याय माग्नुपर्ने अवस्था आयो भने त्यतिबेला यो सरकारले पनि थाम्न  नसक्ने स्थिती हुनसक्छ । राज्य र सम्बन्धीत निकायको जिम्मेवारी हो त्यसैले  नेपाली जनतालाई यो आर्थिक वित्तीय शोषणको न्याय दिनुपर्छ र हमिलाई लाग्छ राज्यले न्याय  दिन्छ किनकि आज नभएपनि भोलि त दिनुपर्छ । 

ऋण तिर्नै पर्दैन लघुवित्त क्षेत्र नै खारेज हुन्छ भनेपछि, के हामीले पनि लघुवित्तबाट टन्न ऋण लिएर बस्दा हुन्छ ? 

त्यो गलत । तपाईले गलत सोच गर्नुभयो त्यस्तो होइन । 

यदि तपाईले लघुवित्त संस्था चलाउनु हुन्थ्यो भने कसरी काम गर्नुहुन्थ्यो ? 

मैले लघुवित्त संस्था चलाउथे भने त राष्ट्र बैंकको निर्देशन, मुलुकी ऐन तोकेको ब्याजदर अनुसार १० प्रतिशत भन्दा बाहिर लेनदेन गर्न पाइदैन जो भनेको छ त्यभित्र चलाउनु पर्छ भनेर म लड्थे ।