कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापनाभएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती गरेका छन्।
निकुञ्जबाट विस्थापित भएर १० कट्ठा जग्गा पाए पनि पाँच पाँच दाजुभाइले बाँड्दा दुई कट्ठा भागमा पर्यो। उनी व्यावसायिक तरकारीबाट भएको आम्दानीले अहिले ११ कट्ठा जग्गा जोड्न सफल भएका छन्।
आठ वर्षदेखि गाउँमा तरकारी खेती गरेका उनले अहिले वार्षिक नौ लाख रुपैयाँ बचत गर्ने गरेको दाबी गरे। ‘मैले शुरु गरेको तरकारी खेतीबाट भएको आम्दानीले मेरो परिवारको आर्थिक अवस्थामा सुधार आउनाका साथै गाउँका अरू किसान पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन्’, उनले भने, ‘यहाँ उत्पादन भएको तरकारी धनगढी, महेन्द्रनगर, बेलौरी र आइबीआरडीलगायत बजारमा खपत हुन्छ।’
चौधरीजस्तै पछिल्ला केही वर्षयता कञ्चनपुरमा व्यावसायिक तरकारी खेतीमा थारू समुदायको सक्रियता बढेको छ । पुस्तौँदेखि खेती र पशुपालनबाट जीविका चलाउँदै आएका उनीहरू नगदे बालीका रुपमा तरकारी खेती थालेपछि आयआर्जन समेत बढेको बताउँछन्।
‘शुरुमा दुई/तीन कट्ठाबाट तरकारी खेती थालेको थिएँ’, किसान धम्मलराज चौधरीले भने, ‘धान, गहुँ खेतीबाट तरकारीमा मुनाफा बढी हुने देखिएपछि व्यावसायिक रुपमा तरकारी खेतीमै लागेँ।’उनले तरकारीको मूल्यमा थपघट हुँदा किसान प्रभावित हुने गरेको बताए।
उनले तरकारीबाट मासिक ७५ हजार आम्दानी हुने गरेको बताए। ‘तरकारी खेतीका क्रममा कृषि सेवा केन्द्रबाट अनुदानमा बीउबिजनका साथै विभिन्न तालिम समेत लिएको छु’, चौधरीले भने,‘तरकारी खेतीमा सक्रिय किसानलाई नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले पनि सहयोग गरिरहेको छ ।’
उनले तरकारीबाट भएको आम्दानीबाट अहिले गाउँमा ६ कोठे पक्की घर निर्माण गरिरहेको बताए। ‘किसानको आवश्यकता बुझेर सरकारी निकायले अनुदान र सहयोग गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि किसानसम्मै पुग्ने संरचना दरिलो बनाउनु आवश्यक छ।’
उनले पडाव गाउँमा अहिले ३० जनाभन्दा थारू समुदायका किसान व्यवसायी तरकारी खेती गरिरहेको बताए। त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सुनिल चौधरी पनि गाउँका सफल व्यावसायिक तरकारी खेती गर्ने किसानको सूचीमा छन्। गाउँको इन्द्रेणी कृषक समूहको अध्यक्ष रहेका उनले गाउँमा २०० बिघा जमिनमा किसानले तरकारी खेती गरेको बताए। ‘गाउँलाई तरकारीको नमूना क्षेत्र बनाउने योजना छ’, चौधरीले भने, ‘तरकारी खेतीमा लागेका प्रायः किसानको आम्दानी राम्रै छ ।’
डेढ दशकदेखि तरकारी खेती गरिरहेको चौधरीले अहिले एक बिघा खेतमा तरकारी खेती गरेका छन् । ‘द्वन्द्वकालका वेला मजदुरीका लागि भारतको राजधानी दिल्ली पुग्दा मलाइ समयको महत्त्व थाहा भयो’, उनले भने, ‘अरूको देशमा दुःख गर्नुभन्दा आफ्नै माटोमा संघर्ष गर्दा अहिले राम्रो फल मिलेको छ।’ उनले तरकारी खेतीबाट वार्षिक चार लाख रुपैयाँ बचत हुने गरेको बताए। (रासस)
प्रतिक्रिया