बढ्दो सहकारी समस्याः फस्दै बचतकर्ता, डुब्दै व्यवसायी

बढ्दो सहकारी समस्याः फस्दै बचतकर्ता, डुब्दै व्यवसायी

बचतकर्ताहरुले सिक्नुपर्ने पाठ के हो ?


सहकारीबाट ऋण लिन सहज हुने र ऋण लिँदा बिना धितो कर्जा पाइने हुँदा कतिपय व्यवसायहरु सहकारीमै निर्भर हुने गरेको पाइन्छ । अझ केही सहकारीहरुले सहकारीको कार्य क्षेत्रभन्दा बाहिर गएर काम गरेको कारण नै सहकारी क्षेत्र धरापमा परेको विज्ञहरुले औँल्याएका छन् । पछिल्लो समय दिनप्रतिदिन सहकारीमा आवद्ध रहेर सञ्चालनमा ल्याइएको धेरैजसो व्यवसाय धरापमा परेका छन् ।

कसरी समस्यामा परे व्यवसायी ?
तारकेश्वर नगरपालिका नेपालटारमा एक क्याफे सञ्चालन गर्दै आएका एक व्यापारी सहकारीमा समस्या सिर्जना भएसँगै व्यवसायमा पनि समस्या सिर्जना भएको बताउँछन् । उनले सहकारी संस्थाले सदस्यहरुको पैसा अन्यन्त्र लगानी गर्दा यस्तो समस्या सिर्जना भएको बताए । उनले कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा १५ लाख रकम डुबेको बताए । उनले भने, ‘मैले त पहिलेदेखि केही रकम बैंकमा पनि जम्मा गरेको थिए त्यसैले व्यवसाय नै छाड्नुपर्ने अवस्था आएन । तर दिनभरि व्यापार भएको पैसा सहकारीमा जम्मा गर्नेहरुले त अहिले पसल नै बन्द गरे ।’ कंलकी स्थीत एक कपडा पसल सञ्चालन गर्दै आएका अर्का व्यापारी राजेश अर्यालले सहकारीमा जम्मा गरेको निक्षेप फिर्ता नपाउँदा आफु समस्यामा परेको बताए । उनले भने, ‘आर्थिक मन्दी त थियो नै तर सहकारीमा जम्मा गरेको निक्षेप पनि फिर्ता नआएपछि व्यापार नै बन्द गर्नुपर्ने अवस्था आयो ।’

व्यवसायबाट आएको सम्पूर्ण रकम सहकारीमा गएर फिर्ता नभएपछि नगद प्रवाह रोकिएका कारण व्यवसायीहरु समस्यामा पर्ने गएको देखिन्छ । सहकारीमा गएको निक्षेप फिर्ता नभएपछि आफ्नो व्यवसाय वृद्धि गर्न नपाएको व्यवसायीहरुको गुनासो छ । कतिपय व्यवसायीहरुले सहकारीमा पैसा डुबेपछि आफ्ना कर्मचारीहरुलाई तलब दिन सकेका छैनन् भने भाडा पनि तिर्न सकेका छैनन् ।

उच्च ब्याजदरको लोभ
राष्ट्र बैंकको नियमनमा रहेका यतीका धेरै वित्तीय संस्थाहरु हुँदाहुँदै पनि किन सहकारीमै पैसा बचत गर्ने भन्ने प्रश्नमा आम जनमानसले सहकारीमा पैसा बचत गर्दा धेरै ब्याज पाइने उत्तर दिन्छन । तर सहकारीको कमजोर व्यवस्थापन र फितलो नियमनले आफुहरु मारमा परिरहेको कुरा आम बचतकर्ताहरुलाई थाहै छैन । सहकारीहरुले एक समय बचतकर्ताको निक्षेप अवधिअनुसार १० देखि १७ प्रतिशत सम्म ब्याज तोके । त्यो समयमा सहकारीले सदस्यहरुलाई विश्वास दिलाउँने माध्ययम नै आफ्नो संस्थाले तोकेको ब्याजदर थियो । तर पछि सहकारीहरुले आफुखुसी ब्याजदर तोक्ने र बचतकर्ताहरुलाई उच्च ब्याजदरको आशा देखाउँदै लोभको जालोमा पार्ने प्रवृत्ति हाबी हुँदै गयो । कृषि सामाग्री संस्थानबाट रिटार्यड भएका रोहन कुमार राय आफुपनि बढि ब्याजदरको लोभमा पर्दा २० लाख रकम डुबेको बताए । उनले भने,‘ जीवनभर आफुले बच्चाहरुको उच्च शिक्षा र आफुनो रिटार्यड जीवनका लागि सञ्चित गरेको रकम नै डुब्यो । अब आन्दोलन गर्ने कि पैसा माग्न जाने कि अब घर खर्चको जोहो गर्ने भन्ने विलखबन्दमा परेको छु ।’

भनेको समयमा बचत फिर्ता पाउनै समस्या
धादिङ घर भई हाल काठमाडौंमा किराना पसल सञ्चालन गर्दै आएका नवराज ढुंगानाले सहकारीमा जम्मा गरेको बचत समयमा पाउन नसकेको गुनासो गरे । सहकारी सञ्चालकहरु जम्मा भएको बचत दुरुपयोग गर्दै कारवाहीबाट बच्न भागिरहेको समयमा ढुंगानाको पैसा रहेको सहकारीका सञ्चालक भने सम्पर्कमै छन तर पनि बचत फिर्ता भएको भने छैन । उनले भने, ‘मैले बचत गरेको सहकारी भागेको चाहीँ छैन पैसा दिन्न पनि भन्दैन खै अब के गर्ने ।’

सहकारीहरु उद्देश्यबाट विमुख बन्दा समस्या
सहकारी संस्थाहरु कार्य क्षेत्रभन्दा बाहिर गएर काम गरेका कारण समस्या निम्तिएको विज्ञहरु बताउँछन । सहकारी संस्थाहरुको राम्रो नियमन, अनुगमन र सुपरिवेक्षण हुन नसक्दा सहकारीमा निर्भर व्यवसाय धरापमा परेको पूर्व डेपुटी गभर्नर समेत रहेका नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटी बताउँछन् । सरकारले क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्ने सहकारी संस्थालाई तत्काल राज्यले कारवाही गर्न नसक्दा सहकारीमा आवद्ध व्यवसाय समस्यामा परेको उनको बुझाई छ । उनले सहकारी क्षेत्रमा नाफाखोरी व्यक्तीको प्रवेश र सहकारीको परिभाषा नै थाहा नभएका व्यक्तीहरुले सहकारी सञ्चालन गर्दा यस क्षेत्रले सफलता हाँसिल गर्न नसकेको बताएका छन् । उनले सहकारीका सदस्यहरुको निक्षेप अपचलन गर्ने गरेको बताउँदै उनले त्यस्ता व्यक्तिहरुको सम्पत्ति रोकेर सहकारी पिडितको निक्षेप फिर्ता गर्नुपर्ने बताए । त्यस्तै सहकारी विज्ञ रेशम थापा पनि सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा नभई गैरउत्पादनशिल क्षेत्रमा लगानी गर्ने गरेको बताए । उनले नियमन गर्ने नियमनकारी निकाय बलियो नहुँदा समस्या बढ्दै गएको बताए । सहकारीको सञ्चालन प्रक्रिया पनि गलत भएको उनको बुझाई छ । उनले सहकारी संस्थाहरुले सही ठाउँमा लगानी गरे त्यहाँ जम्मा भएको निक्षेप कहिल्यै पनि नडुब्ने धारणा व्यक्त गरे ।

शहरकेन्द्रीत बन्दा समस्या
ग्रामीण क्षेत्रमा खेती गर्दै आएका किसानहरुको उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले सहकारी संस्थाको सुरुवात भएको हो । तर पछिल्लो समय भने सहकारी संस्थाहरु बढि शहरकेन्द्रीत हुँदा असिमित निक्षेप संकलन गर्ने र उच्च नाफा आर्जन गर्ने नियतले नियमविपरित ऋण लगानी गर्दा सहकारी क्षेत्रमा थप संकट बढेको विज्ञहरुको भनाई छ । पूर्व डेपुटी गभर्नर शिवाकोटीले सहकारी मार्फत रातारात धनी बन्ने नियत भएका मानिसहरुका कारण सहकारी संस्था बढी शहरकेन्द्रीत भएको बताए । उनले शहरी क्षेत्रमा बढि नाफा कमाईने भएकाले सहकारी शहरी क्षेत्रमा बढेको बताए । बैंकले गर्ने क्रियाकलाप सहकारीले गर्दै सहकारीको निक्षेप जग्गा, घर तथा शेयर कारोबारमा लगानी गर्दा कर्जामा जानुपर्ने ठाउँमा नजाँदा संकट उत्पन्न भएको उनले बताए । उनले भने, ‘सहकारी शहरकेन्द्रीत हुनुमा राज्य संयन्त्रको कमजोरी छ । सहकारीको नियमन र यसको सवल व्यवस्थापन आजको आवश्यकता हो ।’ यता सहकारी विज्ञ रेशम थापाले सहकारी संस्थाले वास्तवीक सहकारी बैंकिङ्ग कारोबार नगरी ठ्याक्कै वाणिज्य बैंकहरु गर्ने खालको बैकिङ्ग कारोबार गर्दै जाँदा समस्या सिर्जना भएको बताए । उनले भने, ‘पद र शक्तीका नजिक भएका मानिसहरुले जानी–जानी पैसा कमाउने ध्ययका साथ फितलो नियमनको उच्च फाईदा उठाए तर दोष भने सहकारी सिद्धान्तको बदनामा गरे ।’

प्रभावकारी नियमनको कमी
सहकारीको विषयमा कुरा हुनासाथ नियमनको कुरा आइहाल्छ । जसरी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नियमन गर्छ त्यसरी नै सहकारी संस्थालाई नियमन गर्ने निकाय नहुँदा सहकारीहरुले मनपर्दी निक्षेप संकलन र लगानी गर्दै आएका छन् । धेरैजसो सहकारी डुबेर मालिक नै बेपत्ता हुने अवस्था आएपछि सरकारले ऐन संशोधनमार्फत सहकारीमा गरिने निक्षेपमा पनि कडाई गर्न थालेको छ । संसदमा गत माघ २७ गते दर्ता गराएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐन संशोधन गर्र्दै वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सहकारी संस्थाको नियमन नेपाल राष्ट्र बैंकले गर्ने भएको हो ।

बचतकर्ताहरुले सिक्नुपर्ने पाठ
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भिम बहादुर गुरुङले बचतकर्ताहरुले संस्थाको स्थीती नहेरी ब्याजको लोभमा फस्न नहुँने सल्लाह दिए । उनले भने, ‘ सहकारीमा कारोबार गर्नृभन्दा पहिले सदस्य बन्नुपर्छ । त्यसपछि सहकारीको कार्यक्षेत्र थाहा पाउँनुपर्छ । आफूले बचत गर्ने भइसकेपछि संस्थाको सबै स्थिती बुझ्नुपर्छ ।’ उनले सहकारी संस्थामा आफ्नो मान्छे कर्मचारी छ भन्दैमा कारोबार गर्न नहुँने बताए ।

सहकारीहरूले बचतकर्ताहरूको ८५ देखि ९० प्रतिशत रकम मात्रै ऋणमा लगाएर बाँकी रकम नगद मौज्दात गर्नुपर्ने नियम छ।