इन्जिनियरिङको जागिर छाडेर जापानबाट फर्केका राेजेश, जसले बनाए ‘RDX’ ब्रान्ड

इन्जिनियरिङको जागिर छाडेर जापानबाट फर्केका राेजेश, जसले बनाए ‘RDX’ ब्रान्ड


‘विदेश पुगेकै दिन सोचेको थिएँ, नेपाल नै फर्किएर केही गर्छु,’ सानेपाका ३७ वर्षीय रोजेश भन्छन्।

चार जना साथी मिलेर सोलार कम्पनी चलाइरहेका उनी व्यवसाय डुबेपछि विदेश जान बाध्य भएका थिए। एकातर्फ परिवारको दबाब, अर्कोतर्फ आर्थिक अभावले थिचेपछि उनले पनि आम नेपाली युवाले जस्तै भविष्यको खोजीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुदूर आकाशमा उडेका थिए।

सुविधासम्पन्न बसाइँ, व्यवस्थित प्रणाली, चिल्ला र धूलो-धुवाँमुक्त सडक, सौम्य सेराेफेराे। तर भित्रभित्र तड्पन थियो उनको मनमा । बेचैनीले थिचिरहन्थ्यो । साथीभाइ र देशको सम्झनाले भुटिन्थ्यो उनको कलेजो। त्यही अस्थिर विचारका लहरमा नेपालमा व्यवसाय गर्नका लागि दिनरात मेहेनत गरेर पैसा जम्मा गर्नमा जुटिरहे।

जापान र कुवेतमा लामो समयसम्म प्रोजेक्ट इन्जिनियरिङको जागिरपछि अन्ततः उनले नेपालको बाटो तताए, साथमा नयाँ आइडिया लिएर । उनी यतिबेला नेपालमै युवा वर्गलाई लक्षित गरेर व्यवसाय सञ्चालन गरिरहेका छन्। ट्याटु र रेस्टुरेन्ट व्यवसायीका रूपमा धेरैले चिनेका उनको परिचय यति मात्रै होइन, रेस्टुरेन्ट, कपडा पसल र मोटरसाइकल क्षेत्रमा पनि उनको ब्राण्ड फैलिएको छ । उनको ब्राण्ड, अर्थात्, ‘आरडीएक्स’। ‘काठमाडौंमा आरडीक्सका विभिन्न शाखाहरू पनि छन्,’ रोजेश भन्छन्, ‘आरडीएक्सको मुख्य उद्देश्य विदेशबाट आयात गर्नुभन्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु हो ।’

नेपाल फर्किएर विगत तीन वर्षदेखि आरडीएक्सलाई ब्राण्ड बनाउन लागिपरेका उनी उद्यमी बन्न त्यति सजिलो नभएको बताउँछन्। ‘व्यवसाय संचालन गर्न निकै धैयर्ता चाहिन्छ,’ उनी भन्छन्। सपना र लगनले मात्रै सफल उद्यमी बन्नसकिने बताउने उनी आफै यसको उदाहरण हुन। विदेशबाट फर्किनेबित्तिकै एकाएक उनको व्यवसाय उदाएको पनि होइन। यसका लागि उनले कठिन मिहिनत र विराट चुनौतीको सामना गरेका छन्। जसमध्ये नेपालमा व्यवसाय सञ्चालनको सबैभन्दा कठिन कार्य राज्य संरचना नै भएको बुझाइ उनको छ। उनी भन्छन्, ‘नेपालमा कम्पनी दर्ता गर्नु सबैभन्दा गाह्रो छ। अधिकांश युवाले व्यवसाय नगर्नुको एक मुख्य कारण यो पनि हो। मेरो कम्पनी दर्ता गर्न पनि छ महिना लाग्यो ।’

यसबाहेक व्यवसाय सञ्चालनका लागि अर्को प्रमुख चुनौती पुँजी भएको उनको बुझाइ छ । तर बैंकहरूबाट नवउद्यमका लागि ऋण लिने प्रक्रिया जटिल भएको उनले बताए । जसकारण सहकारीबाट ऋण लिनेको संख्या बढेको उनी बताउँछन् । उद्यमका लागि ऋण लिनु स्वभाविक भएको बताउँदै उनले कहाँबाट ऋण लिएर कुन क्षेत्रमा लगानी गर्दा टिक्न र सहजै ऋण चुक्ता गर्न सकन्छ बुझेर मात्रै अघि बढे सहज हुने उनले बताए।

आफूले गरेको व्यवसायबाट ग्राहक सन्तुष्ट भएको र आफू यसैमा खुसी रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘जीवनको यो चरणमा सन्तुष्ट छु। भविष्यप्रति आशावादी पनि।’ तर उनी केही निराश पनि देखिन्छन्।निराशाको कारणबारे उनी भन्छन्, विदेश नगएको भए आज यो भन्दा बढी गरिसक्थेँ। विदेशमा गर्ने दुःख नेपालमै गरे सफलता चाँडो मिल्ने बताउँदै उनी युवाहरुलाई देशमै केही गर्न सुझाउँछन्। भन्छन्, ‘कुनै पनि पेसा, व्यावसायलाई सानो–ठूलो नमानी काम गरे लक्ष्य प्राप्तिमा कसैले तगारो हाल्न सक्दैन।’