‘अर्थतन्त्र अझै दबाबमा छ’

‘अर्थतन्त्र अझै दबाबमा छ’


बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा रहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका हुन् ।

सरकार सुधारको प्रयासमै रहेका क्रममा राष्ट्र बैंकबाट मौद्रिक नीतिको समीक्षामार्फत भएका नीतिगत र व्यवहारिक निर्णयले अर्थतन्त्रमा सहजीकरण गर्ने भए पनि अर्थतन्त्र अझै दबाबमा रहेको उनले उल्लेख गरे । उनले सरकारले राजनीतिक दलका नेता, निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरूसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरू र व्यवसायीहरूको ऋण फिर्ता गर्ने समय अवधि थप गरेको बताए ।

‘जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको छ । केही समस्याहरू पनि भए । राष्ट्र बैंकबाट बैंकको ब्याजदर घटाउने कुरामा सहजीकरण गर्ने जस्ता काम पनि नभएका होइनन्’, उनले भने । निजी क्षेत्रले भनेको जस्तो नीति आएको भन्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास निजी क्षेत्रमा रहेका प्रधानमन्त्री दाहालले औंल्याए।

उनले भने, ‘त्यति हुँदा पनि नेपालको अर्थतन्त्र माथिको दबाब हटेको छैन । फर्मल तथ्याङ्कहरु हेर्दा तथ्याङ्कले एउटा कुरा भन्छ । रेमिट्यान्स बढ्यो, राजश्व पनि बढी रहेको छ । पर्यटन बढी रहेको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ । सबै कुरा राम्रा छन् । दक्षिण एसियामा तुलना गर्दा हाम्रो राम्रो अवस्था छ । तर अर्थतन्त्र वास्तविक जीवनमा के भएको छ भन्ने हेर्‍यो भने जनतामा उत्साह र आशा जागेको छैन।’

प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको लागि सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत संरचनागत सुधार गर्ने तयारी गरिरहेको बताए । उनले अर्थतन्त्र सुधारको लागि ठुलो रिफर्मको आवश्यकता रहेको भन्दै सरकार त्यो काम गर्ने तयारीमा रहेको जानकारी गराए।