काठमाडाैं- अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूका छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम) को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन्।
संस्थापक अध्यक्ष अजितविक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै आइतबार सम्पन्न एमच्यामको वार्षिक साधारणसभाले मेटलाइफ, अमेरिकन लाइफ इन्स्युरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका अशिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सनराइज बैंकका मनिष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राजभण्डारी निर्वाचित भएका छन्।
संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन संस्थाको सञ्चालक समितिले आगामी बैठकबाट गर्नेछ। एमच्यामको स्थापनामा शाहको योगदानलाई सम्मान गर्दै शाहलाई संस्थापक अध्यक्षको रुपमा बोर्डको मानार्थ सदस्यमा राखिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए।
त्यसैगरी, अभिनव ल च्याम्बर्स सेमान्त दाहाल मानार्थ सदस्यको रुपमा कार्यसमितिमा रहने छन्। श्रेष्ठले आफू नेतृत्वको टिममा ऊर्जाशील पदाधिकारी तथा सदस्यहरू रहेको भन्दै सांगठनिक र व्यवसायिक हितका लागि काम गर्ने बताए। ऊर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्ने उनको भनाइ थियाे।
उनले आफ्नो कार्यकालमा लगानी तथा उद्यम सम्बन्धित बिभिन्न सम्मेलनहरू नेपाल तथा अन्य मुलुकमा आयोजना गर्ने तथा अन्तर्राष्ट्रिय सम्मेलन तथा मेलाहरूमा सहभागी हुने बताए।





About Us
प्रतिक्रिया