काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन्।
मिति २०८३ मंसिर ८ गते राति करिब ११ः१५ बजे हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौं आएका उनीहरूलाई शङ्कास्पद गतिविधिका आधारमा चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो।
प्रहरीका अनुसार उनीहरुले मलद्वार (एनस) तथा भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई ल्याएको अवस्थामा सुनजस्तो देखिने पहेँलो रङको गोलाकार अर्धठोस पदार्थ बरामद गरिएको हो। भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूबाट प्लास्टिकसहित कुल २ किलो ३४८ ग्राम तौल भएको उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लिन लिनाबाट पाँच थान गोलाकार पहेँलो अर्धठोस पदार्थ बरामद भएको छ, जसको प्लास्टिकसहित तौल १ हजार ३४० ग्राम रहेको छ। त्यस्तै, लिन सिनपिङबाट तीन थान उक्त पदार्थ बरामद भएको छ, जसको प्लास्टिकसहित तौल १ हजार ८ ग्राम रहेको छ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी गरिएको छ।





About Us
प्रतिक्रिया