पटकासहित ६ जना पक्राउ


काठमाडौं – बारा, ललितपुर र काभ्रेबाट पटकासहित ६ जना पक्राउ परेका छन्। बाराको जीतपुर सिमरा उपमहानगरपालिका – १ पथलैयाबाट ८० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित २ जनालाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा रौतहट राजपुर नगरपालिका– ५ बस्ने २८ वर्षीय बिनोद महतो र बारा पचरौता नगरपालिका– ७ बस्ने २६ वर्षीय राधा कृष्ण सहनी रहेका छन्। प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले सिम्रौनगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१– ०३४ च ७३१५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त पटकाहरू फेला पारी चालक बिनोद र पिकअपमा सवार राधा कृष्णलाई पक्राउ गरेको हो।

ललितपुरको  महालक्ष्मी नगरपालिका– ४ सितलहाईटबाट २५ हजार रुपैयाँ बराबरको पटका सहित सोही नगरपालिका– ६ ईमाडोल बस्ने पर्सा वीरगंज महानगरपालिका– २६ घर भएका २८ वर्षीय अमित कुमार कुशुवहा समेत ३ जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पटका सहित पक्राउ गरेको हो।

काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट ८० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका पटकासहित धनुषा जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय किशोरलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले धनुषाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००७ ख १२२४ नम्बरको गाडीमा सवार उनलाई उक्त पटका सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।