लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो वार्षिक साधारण सभा


काठमाडौं – नबिल बैंकले आगामी असोज २२ गते आफ्ना शेयरधनीलाई ४२ औँ वार्षिक साधारण सभामा बोलाएको छ।बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उक्त सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बोलाएको हो।

सो सभा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ। सो सभामा साधारण शेयरधनीहरूका लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरूलाई चुक्तापूँजीको ८ प्रतिशतका दरले हुने २३ करोड ३४ लाख रुपैयाँ भन्दा बढी नगद लाभांश (नगद लाभांशमा लाग्ने करसहित) (बाँडफाटँ भएको मितिको आधारमा समानुपाति रुपमा २१३ दिनको) वितरण गर्न स्वीकृत गर्नेछ।

बैंकको अधिकृत पूँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्याउने त्यस्तै, बोनस शेयर तथा पूँजी वृद्धिका आधारमा नियमावली एवं प्रबन्धपत्रका सम्बन्धित दफाहरू संशोधन गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्तावहरू पेश गरिनेछन्।

सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नुका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा वैदेशिक रणनीतिक साझेदारीमा जान सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गर्नेछ।

त्यसैगरी, सहायक कम्पनीहरू नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नबिल स्टक डिलरको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत प्रस्तुत गरिनेछ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।