राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउन्टर सेवा सञ्चालन


 काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सिंहदरबार प्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा आएको छ। बैंकले गत भदौ २२ गते सोमबारदेखि नियमित कार्यालय समयभन्दा थप एक घण्टा सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा ल्याएको हो। उक्त काउन्टरबाट चेक भुक्तानी, नगद जम्मा लगायत सीमित बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार ग्राहकले बेलुका ५ बजेदेखि ६ बजेसम्म सन्ध्याकालीन काउन्टरबाट बैंकिङ्ग सेवा लिन सक्नेछन्। यसबाट नियमित कार्यालय समयमा कारोबार गर्न नसकेका ग्राहकलाई अत्यावश्यक बैंकिङ्ग कारोबार गर्न सहज हुने बैंकको अपेक्षा छ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेटेर ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनल मार्फत सेवा दिँदै आएको छ । बैंकका अनुसार ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जाका साथै एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।