मासातो कान्दा एडीबीको अध्यक्षमा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित


मनिला – एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दा बैंकको गभर्नर बोर्डबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। उनको नयाँ ५ वर्षे कार्यकाल २४ नोभेम्बर २०२६ देखि सुरु हुनेछ। कान्दा पहिलोपटक २७ नोभेम्बर २०२४ मा एडीबीको ११औँ अध्यक्षका रूपमा निर्वाचित भएका थिए। उनले २४ फेब्रुअरी २०२५ मा पदभार ग्रहण गर्दै पूर्वअध्यक्ष मासात्सुगु असाकावाको बाँकी कार्यकाल पूरा गरेका थिए।


पुनर्निवार्चित भएपछि आफ्नो भनाइ राख्दै अध्यक्ष कान्दाले सदस्य राष्ट्रहरूले देखाएको विश्वासप्रति आभार व्यक्त गरे। ‘अघिल्ला संकटहरूबाट अर्थतन्त्रहरू तंग्रिन नपाउँदै एसिया र प्रशान्त क्षेत्रमा नयाँ धक्काहरू लागिरहेका छन्,’ उनले भने, ‘एडीबी यस क्षेत्रको स्थायित्वको मुख्य आधार बन्नुपर्छ। तर स्थायित्वको अर्थ स्थिर रहनु मात्र हुन सक्दैन, हामीले आवश्यक परेको गति र परिमाणमा स्रोत परिचालन गर्नुपर्छ।’

कान्दाले पदभार ग्रहण गरेपछि एडीबीले वित्तीय सहयोगमा ऐतिहासिक विस्तार गरेको छ। बैंकले सन् २०२५ मा आफ्नै स्रोतबाट २९ अर्ब डलर र सह-वित्तीयकरणबाट १५ अर्ब डलर गरी कुल रेकर्ड ४४ अर्ब डलर बराबरको सहयोग उपलब्ध गराएको थियो। साथै, बैंकको बडापत्रमा गरिएको संशोधनले वार्षिक वित्तीय क्षमता ५० प्रतिशतले बढाएर ३६ अर्ब डलरभन्दा बढी पुर्‍याउन बाटो खोलेको छ।

एडीबीमा आउनुअघि कान्दाले जापानको प्रधानमन्त्री र अर्थमन्त्रीको विशेष सल्लाहकार तथा अर्थ-उपमन्त्रीका रूपमा जी-सेभेन र जी-ट्वान्टी लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा जापानको प्रतिनिधित्व गरिसकेका छन्। सन् १९६६ मा स्थापित एडीबी ६९ सदस्य राष्ट्रहरूको स्वामित्वमा रहेको प्रमुख बहुपक्षीय विकास बैंक हो। जसमध्ये ५० सदस्य एसिया-प्रशान्त क्षेत्रकै छन्।