एनभिडियाले १ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउन हिमालयन बैंकसँग गर्‍यो सम्पर्क


काठमाडौं – अमेरिकी प्रविधि कम्पनी एनभिडियाले नेपालका बाढी तथा विपद् प्रभावित नागरिकका लागि घोषणा गरेको १ करोड अमेरिकी डलर (१० मिलियन डलर) सहयोग उपलब्ध गराउन हिमालयन बैंकसँग सम्पर्क गरेको छ।

उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न एनभिडियाले हिमालयन बैंकलाई सम्पर्क गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशमशेर राणाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिएका छन्।

राणाले एक्समा लेखेका छन्, ‘हिमालयन बैंकमार्फत १ करोड अमेरिकी डलर (१० मिलियन डलर) प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउन सम्पर्क गर्नुभएकोमा हामी एनभिडियाप्रति आभारी छौँ। विपत्तिको यस कठिन समयमा गरिएको यो अत्यन्तै उदार सहयोगका लागि उहाँहरूलाई जति धन्यवाद दिए पनि कमै हुन्छ।’

यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि सामाजिक सञ्जालमार्फत एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङले नेपालका बाढीपीडितका लागि १ करोड अमेरिकी डलर सहयोग गरेको जानकारी दिएका थिए।