नबिल बैंकको ४ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल


काठमाडौं – नबिल बैंकले ५.५ प्रतिशत नबिल डिबेञ्चर-२०९३ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। मंगलबार भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली र क्यापिटलका तर्फबाट सीईओ मन्दीप लुइटेलले हस्ताक्षर गरेका छन्।

बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अङ्कित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेकाे हो। जसमध्ये २४ लाख कित्ता ऋणपत्रले हुन आउने कुल २ अर्ब ४० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिनेछ।

साथै १६ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ६० करोड रूपैयाँ ऋणपुँजी रकम (सोमध्ये ५ प्रतिशत अर्थात ६५ हजार) ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको समेत सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।

बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले हालसालै ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ्ग एन्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ।