हिमालयन बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख रुपैयाँ सहयोग


काठमाडौं – हिमालयन बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको अचानकको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बैंकका अनुसार २०८३ भदौ १० गते बिहान रसुवा जिल्लाबाट बग्ने भोटेकोशी नदीमा गेग्य्रानसहितको बाढी आएपछि भोटेकोशी तथा त्रिशूली नदी किनारका क्षेत्रसहित अन्य प्रभावित समुदायमा जनधनको क्षति भएको थियो।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा उक्त रकम प्रदान गर्ने जनाएको छ।

बैंकले अप्रत्याशित प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ। विपद्को यस दुःखद् घडीमा धैर्य धारण गर्न तथा उद्धार र राहत कार्यमा जुट्न सम्बन्धित सबैलाई आग्रह गर्दै बैंकले प्रभावित समुदायको साथमा रही सक्दो सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ।