बैंकर कार्कीले ल्याए दोस्रो पुस्तक ‘ड्यागर अफ द माइन्ड’


काठमाडौं – नेपाल राष्ट्र बैंकका उपनिर्देशक सार्थक कार्कीको दोस्रो पुस्तक ‘ड्यागर अफ द माइन्ड’ प्रकाशन भएको छ। अर्थशास्त्र तथा अर्थतन्त्रका जटिल विषयलाई सरल भाषामा बुझाउने उद्देश्यले लेखिएको पुस्तक करिब दुई सातापछि औपचारिक रूपमा बजारमा आउने तयारीमा छ।

पुस्तकमा अर्थशास्त्रसम्बन्धी १२ वटा निबन्ध समेटिएका छन्। राजनीतिक अर्थशास्त्र तथा नेपाली अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विषय, विचार र सवाललाई सरल तथा स्पष्ट ढंगले प्रस्तुत गरिएको लेखक कार्कीले बताएका छन्।

अर्थशास्त्रलाई अत्यधिक प्राविधिक शब्दावली र जटिल अवधारणाले भरिएको विषयका रूपमा बुझिने गरेको सन्दर्भमा ‘ड्यागर अफ द माइन्ड’ ले राजनीतिक अर्थशास्त्रका जटिल तथा गाँठा परेका विषयलाई सहज र सबैले बुझ्न सक्ने शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको कार्कीको भनाइ छ।

यो कार्कीको दोस्रो पुस्तक हो। करिब २६० पृष्ठ र ५८ हजार शब्द रहेको पुस्तक अर्थशास्त्र, राजनीतिक अर्थशास्त्र तथा नेपाली अर्थतन्त्रका विभिन्न पक्षमा रुचि राख्ने पाठकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

पुस्तकको भूमिका अर्थविद् तथा पूर्वमुख्यसचिव डा. विमल कोइरालाले लेखेका छन्। पुस्तकको प्रकाशन साङ्ग्रिला बुक्सले गरेको हो। पुस्तक देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध हुनेछ भने अनलाइन माध्यमबाट समेत खरिद गर्न सकिनेछ।