काठमाडौं – डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिबान) ले देशका विभिन्न जिल्लामा बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिमा राहत, उद्धार, सेवा निरन्तरता तथा पुनःस्थापना कार्यमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
२०८३ भदौ १० गते भोटेकोशी खोलामा आएको बाढीलगायत देशका विभिन्न जिल्लामा निरन्तर भइरहेको बाढी तथा पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति डिबानले गहिरो दुःख व्यक्त गरेको छ। रसुवालगायत विभिन्न जिल्लामा भएको जनधनको क्षतिले मुलुकलाई स्तब्ध बनाएको डिबानले जनाएको छ।
डिबानले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, सम्पर्कविहीन तथा बेपत्ता रहेका व्यक्तिहरूको सकुशल उद्धार तथा सुरक्षित पुनर्मिलनका लागि समेत कामना गरेको छ।
राहत तथा उद्धार कार्यमा अहोरात्र खटिएका स्थानीय समुदाय, नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरीलगायत सम्पूर्ण सुरक्षाकर्मी तथा उद्धारकर्मीप्रति डिबानले कृतज्ञता व्यक्त गरेको छ। उद्धार कार्यमा संलग्न सबैको सुरक्षा तथा स्वास्थ्यका लागि समेत डिबानले शुभकामना व्यक्त गरेको छ।
विपद्बाट प्रभावित क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाई आफ्नो सुरक्षा तथा स्वास्थ्यमा विशेष ध्यान दिन डिबानले आग्रह गरेको छ।बाढी तथा प्राकृतिक विपद्का कारण बैंक तथा वित्तीय संस्थामा कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन तथा बेपत्ता भएको भन्दै डिबानले उनीहरूका परिवारजनप्रति सहानुभूति व्यक्त गरेको छ। साथै, बाढी, विद्युत् आपूर्ति, नेटवर्क तथा सञ्चार सेवामा आएको अवरोधका कारण सदस्य विकास बैंकहरूका केही शाखाहरू समेत प्रभावित भएको डिबानले जनाएको छ।
विपद्को यस असामान्य परिस्थितिमा सदस्य विकास बैंकहरूको तर्फबाट सम्भव भएसम्म राहत तथा उद्धारमा सहयोग गर्नुका साथै बैंकिङ सेवा निरन्तरता र प्रभावित क्षेत्रको पुनःस्थापना कार्यमा आवश्यक सहजीकरण गर्ने डिबानले जनाएको छ। प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा समुदायको शीघ्र उद्धार, राहत तथा पुनःस्थापना हुन सकोस् र मुलुक यथाशीघ्र सामान्य अवस्थामा फर्कियोस् भन्ने डिबानले कामना गरेको छ।






About Us
प्रतिक्रिया