कुमारी बैंकद्वारा बाढी प्रभावित समुदायका लागि ३ करोड ३९ लाख बराबरको सहयोग


काठमाडौं – कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

बैंकले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका  ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ।

हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लाहरू प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताएको छ। बैंकका अनुसार उक्त सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।विपद्को यस कठिन घडीमा कुमारी बैंकले प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई राहत, उद्धार तथा पुनःस्थापना कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरेको छ। साथै, बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ।