एसियन भिलेज रिसोर्टको कर्जा प्रकरण: ६ देखि ८ वर्षसम्म कैद सजाय माग, शेरचनलाई थप एक वर्ष 


काठमाडौं – सरकारी वकिलको कार्यालयले एसियन भिलेज रिसोर्टको कर्जा प्रकरणमा प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित सात जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ। कार्यालयले बैंकलाई करिब ४८ करोड रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने मागदाबी समेत गरेको छ।

अभियोगपत्रमा शेरचनसँगै शशिधर शर्मा, प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मि पन्त, बुटवल शाखामा कार्यरत राजेन्द्र श्रेष्ठ, शाखा प्रबन्धकद्वय सन्तोष ज्ञवाली र शिशिर पौडेल तथा बैंकका म्यानेजर नन्दराज जोशीलाई प्रतिवादी बनाइएको छ। सरकारी वकिलको कार्यालयका अनुसार बैंकिङ्ग कारोबारका क्रममा कर्जा प्रवाह तथा त्यसको प्रयोगमा कानुनले तोकेको व्यवस्थाविपरीत कार्य भएको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको हो।

बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ ले कर्जाको दुरुपयोग तथा बैंकको स्रोत, साधन र सम्पत्तिको दुरुपयोगलाई निषेध गरेको छ। ऐनको दफा ८ अनुसार बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिइएको हो, सोही प्रयोजनमा प्रयोग नगरी अन्यत्र प्रयोग गर्नु वा गराउनु कर्जाको दुरुपयोग मानिन्छ। 

त्यस्तै, दफा ९ ले बैंक तथा वित्तीय संस्थाका संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा सम्बद्ध व्यक्तिले बैंकको स्रोत र साधनको दुरुपयोग गर्न नहुने व्यवस्था गरेको छ। बैंकको हित प्रतिकूल हुने गरी बैंकको सम्पत्ति खर्च गर्न वा गराउनसमेत ऐनले रोक लगाएको छ। त्यसैले उनीहरुलाई दफा १५ बमोजिम  छ वर्षदेखि आठ वर्षसम्म कैद सजाय माग गरिएको छ। साथै, प्रमुख कार्यकारी अधिकृत भएर पनि कसुर गरेकाले गर्दा  शेरचनलाई थप एक वर्ष कैद मागदाबी गरिएको छ।