एसियन भिलेज रिसोर्ट कर्जा प्रकरण: तत्कालीन सीईओ शेरचनसहित सात जनाविरुद्ध बैंकिङ्ग कसुरको मुद्दा दायर


काठमाडौं – ‘एसियन भिलेज रिसोर्ट प्राइभेट लिमिटेडका’ का लागि प्रभु बैंकबाट प्रवाह भएको कर्जा करोडौँ दुरुपयोग प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकेर अभियोग पत्र सरकारी वकिल कार्यालयमा बुझाएको छ। सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित ७ जनाविरुद्ध बैंकिङ्ग कसुरको मुद्दा दायर भएको हो। 

सीआईबीले अशोक शेरचन, शशिधर शर्मा, प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मि पन्त, बुटवल शाखामा कार्यरत राजेन्द्र श्रेष्ठ तथा शाखा प्रबन्धकद्वय सन्तोष ज्ञवाली र शिशिर पौडेल र प्रभु बैंकका म्यानेजर नन्दराज जोशीलाई प्रतिवादी बनाएर अभियोग पत्र बुझाइएको उनले बताए। प्रतिवादीहरूमध्ये अशोक शेरचन फरार रहेको उनले बताए।

सीआईबीले यस प्रकरणमा ४८ करोड  बिगो दाबी गरेर अभियोग पत्र बुझाएको छ। रुपन्देहीमा पाँचतारे रिसोर्ट बनाउन लिइएको ४८ करोड रुपैयाँ ऋण व्यक्तिगत स्वार्थ र पारिवारिक व्यवसायमा खर्च गरिएको पाइएपछि बैंकका तत्कालीन सीईओ शेरचनसहितका रिसोर्टका लगानीकर्ताविरुद्ध बैंकिङ्ग कसुरको मुद्दा दायर भएको हो। 

सीआईबीका अनुसार नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा यस प्रकरणमा अनुसन्धान बढाइएको थियो। एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो।

तर, कर्जा प्रवाहका क्रममा बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि दृष्टि बन्धक गर्ने कबुलियतनामा गरी कर्जा लिइएको तथा उक्त रकम कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्तिहरू र आफ्नै समूहअन्तर्गतका अन्य ऋणी कम्पनीहरूको बक्यौता भुक्तानीमा प्रयोग गरिएको थियो।