काठमाडौं – एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा १८ करोड १७ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८७ करोड २० लाख ४२ हजार ऋणात्मक खुद नाफा रहेको बैंक गत वर्ष नाफामा फर्किएको हो ।
बैंकको वित्तीय सुधारसँगै सञ्चालन गतिविधिमा पनि केही सकारात्मक परिवर्तन देखिएको छ । यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा भने उल्लेख्य गिरावट आएको छ । गत असारसम्म बैंकले ७ अर्ब ८४ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको १० अर्ब १३ करोड ५ लाखको तुलनामा कम हो ।
त्यसैगरी, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी बढेर १ अर्ब ४२ करोड १६ लाख पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब ६१ करोड ९८ लाख रहेको छ भने सञ्चालन नाफा ९७ करोड ९१ लाख पुगेको छ। अघिल्लो वर्ष बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब ६३ करोड १३ लाख ८२ हजार रहेको थियो भने सञ्चालन नाफा ४ अर्ब ५१ करोड ३ लाख ऋणात्मक थियो ।
यद्यपि, बैंकको वितरणयोग्य नाफा अझै ठूलो ऋणात्मक अवस्थामा छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख ऋणात्मक रहेको छ ।
निक्षेप बढ्यो
गत असारसम्म बैंकले ३ खर्ब ४३ अर्ब ६७ करोड ९० लाख निक्षेप संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ३ खर्ब १९ अर्ब ६ करोडको तुलनामा बढी हो । तर, कर्जा लगानी भने घटेको छ । गत असारसम्म बैंकले १ खर्ब ९२ अर्ब १ करोड ६१ लाख कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा लगानी २ खर्ब १८ अर्ब ४२ करोड ६६ लाख थियो ।
प्रतिशेयर आम्दानी पनि धनात्मक
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक अवस्थाबाट धनात्मक बनेको छ । अघिल्लो आर्थिक वर्ष २५.९६ ऋणात्मक रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा १.२२ धनात्मक भएको हो।
बैंकको प्रतिशेयर नेटवर्थ १७२.३२ रहेको छ । यता, बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ८.७४ प्रतिशत रहेको खराब कर्जा बढेर गत असारसम्म ९.२६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको सिमामा खराब कर्जा राख्नुपर्ने व्यवस्था गरेको छ । तर, बैंकको खराब कर्जाको सीमा नाघेको छ । पूराना कर्जामा समस्या आउँदा बैंकको खराब कर्जा बढेको हो ।
यता बैंकको खराब कर्जा बढ्दा बैंकले अपेक्षाअनुसारको सफलता पाउन नसकेको देखिन्छ । बैंकको कर्जा जोखिममा पर्दा बैंकले प्रोभिजनमा पनि बढी पैसा छुट्याएको छ । यस तथ्यांकलाई हेर्दा एआईसी एशिया बैंकको नेतृत्वमा सुजित शाक्यको नेतृत्व सम्हालेसँगै एनआईसी एशिया बैंकले लय समातेको देखिन्छ । घाटाबाट नाफातर्फ फर्किनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर, वितरणयोग्य नाफा ऋणात्मक अवस्थामा रहनु र खराब कर्जा बढ्नुले बैंकको सुधार यात्रा अझै चुनौतीमुक्त भने हुन सकेको छैन ।






About Us
प्रतिक्रिया