बैंकिङ्ग निक्षेप बढ्दा कर्जा प्रवाहमा गिरावट, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप सामान्य बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन ३१ गते बैंकिङ्ग प्रणालीको निक्षेप ८२ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म यस्तो निक्षेप ८२ खर्ब ७८ अर्ब रुपैयाँ थियो। केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेप पनि बढेको छ।

अघिल्लो दिनसम्म ७४ खर्ब ७५ अर्ब रहेको निक्षेप ३१ गते ७४ खर्ब ७७ अर्ब पुगेको छ। साउन ३१ गते वाणिज्य बैंकहरुको कर्जामा लगानी १ अर्ब रुपैयाँले घटेको छ। साउन ३० गते ५९ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ३१ गते ५९ खर्ब ४७ अर्ब कर्जा प्रवाह गरेका छन्।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाले गर्ने कर्जा लगानी स्थिर रहेको छ। साउन ३० गते ५२ खर्ब ८९ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ३१ गते पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन्। सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७१ दशमलव २३ प्रतिशत रहेको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत कायम भएको छ।