काठमाडौं – नेपालको बैंकिङ्ग क्षेत्रमा नबिल बैंकले नाफाको हिसाबले आफ्नो अग्रता निरन्तर कायम राख्दै आएको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा पनि नाफामा पहिलो स्थानमा नै पर्न सफल भएको हो। पछिल्ला केही वर्षका वित्तीय विवरणले नबिल बैंकलाई व्यावसायिक बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्थाका रूपमा स्थापित गरेको छ। नबिलले केही वर्षदेखि लगातार नाफामा नम्बर वान् बनिरहेको छ।
बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बढेको हो। बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९० करोड आर्जन गरेको छ। जबकि बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ९२ करोड नाफा कमाएको थियो। गत वर्ष बैंकको खुद ब्याज आम्दानी बढेको छ।
बैंकको खुद ब्याज आम्दानीमा सुधार हुँदा पनि नाफा सुधारिएको हो। बैंकले १७ अर्ब ९२ लाख ८८ हजार खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष बैंकले १६ अर्ब ३२ करोड ७२ लाख ८१ हजार खुद ब्याज आम्दानी गरेको थियो। गत वर्ष बैंकले करिब ७ अर्ब खुद नाफा आर्जन गर्दै सबै बैंकलाई पछि पारेको हो।
आर्थिक वर्ष २०७९/८० देखि नै लगातार आफ्नो अग्रता कायम गर्दै आइरहेको छ। नबिल बैंकले ०७९/८० मा ७ अर्ब ५२ करोड नाफा आर्जन गरेको थियो। आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको थियो।
यस्तो छ अन्य सूचक
गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ५४ करोड, कुल सञ्चालन आम्दानी २२ अर्ब ३३ करोड र सञ्चालन मुनाफा ११ अर्ब ५६ करोड रहेको छ। अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ४२ करोड रहेको छ। बैंकको कुल सञ्चालन आम्दानी र सञ्चालन नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो। अघिल्लो आर्थिक वर्षमा बैंकले कुल सञ्चालन आम्दानी २१ अर्ब र सञ्चालन नाफा ९ अर्ब २३ करोड थियो।
बैंकको नाफामा छलाङ आउँदा वितरणयोग्य नाफा पनि बढेको हो। गत वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो। अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३ अर्ब ८५ करोड ५५ लाख रहेको थियो। बैंकको प्रतिशेयर आम्दानी बढेको छ। अघिल्लो वर्ष २१.८९ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष बढेर २८.३६ रुपैयाँ पुगेको छ।
बैंकले २०७७/७८ देखि हालसम्म पनि लगातार लाभांश दिँदै आइरहेको छ। नबिलले विगत तिन वर्षदेखि भने एउटै लेभलमा लाभांश वितरण गर्दै आइरहेको छ। गत आर्थिक वर्षमा बैंकले रिकभरीमा जोड दिँदा बैंकको खराब कर्जा घटेको छ। बैंकको खराब कर्जा ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा कायम भएको छ।
सधैँ पहिलो बन्नुको रहस्य
नबिल बैंकको निरन्तर नाफा वृद्धिका पछाडि बलियो कर्जा विस्तार, असल कर्जा व्यवस्थापन, गैर ब्याज आम्दानीको वृद्धि र सञ्चालन दक्षतालाई प्रमुख कारणका रूपमा हेरिएको छ। बैंकले डिजिटल बैंकिङ्ग, विप्रेषण सेवा, व्यापार वित्त तथा लगानीसम्बन्धी सेवा विस्तार गरेर आम्दानीका स्रोत पहिल्याउँदै गइरहेको छ।
नेपालको पहिलो निजी क्षेत्रको व्यावसायिक बैंकका रूपमा सन् १९८४ मा स्थापना भएको नबिल बैंकले देशभर शाखा सञ्जाल विस्तारसँगै आधुनिक बैंकिङ्ग सेवामा अग्रणी भूमिका खेल्दै आएको छ। जसले पनि बैंकको नाफा लगातार बढिरहेको हो।
बैंकिङ्ग क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, कर्जाको सुस्त विस्तार र आर्थिक गतिविधिमा आएको उतारचढावका बिच पनि नबिल बैंकले नाफामा आफ्नो वर्चस्व कायम राख्नुले व्यवस्थापकीय पक्ष समेत प्रशंसनीय देखिएको छ। बैंकको स्थिर वित्तीय अवस्था, जोखिम व्यवस्थापन क्षमता र ग्राहकको विश्वासले आगामी दिनमा पनि नाफामा अग्रता कायम रहने अपेक्षा गरिएको छ।
नबिल बैंकमाथि चुनौती
नबिल बैंक सबै सूचकमा अब्बल हुँदा हुँदै पनि विभिन्न चुनौती भने छन्। बैंकमाथि देशको आर्थिक तथा राजनीतिक परिस्थितिका कारण निष्क्रिय कर्जा व्यवस्थापनमा ठुलो चुनौती देखा परेको छ। न्यून आर्थिक वृद्धिदर तथा सम्पत्तिको गुणस्तरमा आएको गिरावटको पृष्ठभूमिमा सम्पत्तिको वृद्धि कायम राख्नु बैंकको अर्को प्रमुख चुनौती हो।
बैंकलाई गैर–ब्याज आम्दानी वृद्धि गर्न, तरलता तथा ब्याजदर जोखिम व्यवस्थापन र नेपालमा साइबर तथा सूचना सुरक्षासम्बन्धी जोखिम बढ्दै जाँदा चुनौती पनि थपिइरहेको छ। बजारमा तरलताको उतारचढाव तथा अधिक तरलताको अवस्था, कर्जाको मागमा स्थिरता र विभिन्न क्षेत्रमा सरकारको कम पुँजीगत खर्चको प्रभावले बैंकले विभिन्न चुनौतीहरू सामना गरिरहेको छ।






About Us
प्रतिक्रिया