काठमाडौं – माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२४ प्रतिशतकाे वृद्धि हाे।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा ९३ करोड ६४ लाख रुपैयाँबाट बढेर ९८ करोड २० लाख रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोषमा रकम छुट्याउनुअघिको नाफा पनि बढेको छ। समीक्षा अवधिमा यस्तो नाफा एक अर्ब चार करोड १६ लाख रुपैयाँबाट बढेर एक अर्ब १९ करोड ८३ लाख रुपैयाँ पुगेको छ।
यस्तै, बैंकको वितरणयोग्य नाफा ९३ करोड ६४ लाख रुपैयाँबाट बढेर ९८ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा बैंकले तीन अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेको छ। उक्त शेयरको लाभांशका लागि सात करोड ५५ लाख रुपैयाँ छुट्याएपछि बैंकको लाभांश क्षमता ७.५१ प्रतिशतमा सीमित भएको छ।
बैंकको आम्दानीका प्रमुख स्रोतमा समेत सुधार देखिएको छ। खुद ब्याज आम्दानी अघिल्लो आवको पाँच अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर गत आवमा छ अर्ब सात करोड ४९ लाख रुपैयाँ पुगेको छ। खुद शुल्क तथा कमिसन आम्दानी पनि एक अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट बढेर एक अर्ब ५८ करोड ५७ लाख रूपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको नेट ट्रेडिङ आम्दानी ३३ करोड २२ लाख रुपैयाँबाट बढेर ४८ करोड ११ लाख रुपैयाँ पुगेको छ। विभिन्न आम्दानीका स्रोतमा भएको वृद्धिसँगै कुल सञ्चालन आम्दानी ७अर्ब ४४ करोड सात लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ। नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेकाे छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८९ पैँसाबाट बढेर १७ रुपैयाँ ८९ पैसा पुगेको छ। त्यस्तै प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा पुगेको छ।







About Us
प्रतिक्रिया