काठमाडौं– बैंकिङ्ग प्रणालीमा पर्याप्त तरलता रहेपनि व्यवसायी तथा लगानीकर्ता कर्जा लिन उत्साहित नदेखिएको भन्दै प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले निजी क्षेत्रको विश्वास बढाउन सरकारलाई तत्काल नीतिगत सुधार गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै गजुरेलले अहिले बैंकमा लगानीयोग्य रकमको अभावभन्दा पनि निजी क्षेत्रको लगानी गर्ने आत्मविश्वास कमजोर हुनु अर्थतन्त्रको प्रमुख चुनौती बनेको बताए।
‘बैंकमा पैसा छ तर व्यवसायीले कर्जा लिन चाहिरहेका छैनन्,’ उनले भने, ‘व्यवसायीको कर्जा लिने आत्मविश्वास घटेको छ। यसलाई बुस्ट गर्न सरकारले सोच्नुपर्छ।’ सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको भएपनि निजी क्षेत्रको लगानी र कर्जा विस्तार नबढेसम्म उक्त लक्ष्य हासिल गर्न कठिन हुने गजुरेलको भनाइ छ।
उनले कर्जा प्रवाह बढाउन सरकारले मुख्यतः तीन विषयमा तत्काल ध्यान दिनुपर्ने बताए। नीतिगत स्थिरता, लगानी सुरक्षाको प्रत्याभूति र उत्पादनमूलक क्षेत्रमा कर्जा परिचालन गर्नुपर्ने उनको सुझाव छ। गजुरेलले निजी क्षेत्रले दीर्घकालीन लगानीको निर्णय गर्न सक्ने वातावरण बनाउन सरकारका नीति स्थिर र पूर्वानुमानयोग्य हुनुपर्ने बताए। पटक–पटक हुने नीतिगत परिवर्तनले व्यवसायीलाई लगानीसम्बन्धी निर्णय लिन कठिन हुने भन्दै उनले सरकारले स्पष्ट र स्थिर नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए।
निजी क्षेत्रले आफ्नो लगानी, व्यवसाय र सम्पत्तिको सुरक्षा हुने विश्वास नभएसम्म बैंकबाट कर्जा लिएर जोखिम लिन तयार नहुने गजुरेलले बताए। ‘सरकारले निजी क्षेत्रलाई कन्फिडेन्समा लिनुपर्छ,’ उनले भने। निजी क्षेत्रलाई केवल कर तिर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको साझेदारका रूपमा व्यवहार गर्नुपर्ने उनको भनाइ छ। लगानीकर्तासँग नियमित संवाद गर्ने, व्यवसायीका समस्या समाधान गर्ने र नीतिगत स्पष्टता कायम गर्ने हो भने निजी क्षेत्रको मनोबल बढाउन सकिने उनले बताए।
गजुरेलले बैंकबाट कर्जा प्रवाह बढाउनु मात्रै उपलब्धि नभएको भन्दै कर्जा उत्पादनमूलक क्षेत्रमा पुग्नुपर्ने बताए। उत्पादन, रोजगारी र आय सिर्जना गर्ने क्षेत्रमा कर्जा विस्तार भएमा त्यसले व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना र आम्दानी बढाउने तथा बजारको मागसमेत विस्तार गर्ने उनको भनाइ छ।








About Us
प्रतिक्रिया