उच्च अदालत पाटनद्वारा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट


काठमाडौं– उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ। अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो।

न्यायालयले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ। त्यस्तै, एक वर्ष नाघेका ३५३ रहेका छन्।मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार १८ वर्षमुनिका मुद्दा शून्यमा झार्न सफल भएको जिकिर गरे।

‘विकास निर्माण र राजस्व असुलीका मुद्दालाई विशेष प्राथमिकता दिएका छौँ’, उनले भने। उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ७४० थान मुद्दा फछ्र्योट गरेको र एक वर्ष नाघेका थुनुवा मुद्दा १२ थान बाँकी रहेको जनाएको छ। मातहतका जिल्लामा सिन्धुपाल्चोकले ७७.४, रसुवाले ७५.६ र जिल्ला अदालत काठमाडौँले सबैभन्दा कम ४२.३ प्रतिशत मुद्दा फछ्र्योट गरेका छन्।