काठमाडौं – सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) को शेयर सर्वसाधारणमा बेच्ने कार्यक्रम दोहोर्याएकाे। चालु आर्थिक वर्ष ०८२/८३ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो कार्यक्रम ल्याएका थिए। तर, कार्यान्वयन हुन नसकेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमा पनि सोही कार्यक्रमलाई निरन्तरता दिएका हुन्।
सरकारको कार्य योजना अनुसार आगामी पुस महिनाभित्र नेपाल टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशतमा सीमित राखेर बाँकी २५ प्रतिशत शेयर आईपीओ वा एफपीओ मार्फत सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्ने तयारी गरेको हो। हाल नेपाल टेलिकममा सरकारको ९१.५३ प्रतिशत शेयर स्वामित्व छ भने सर्वसाधारणको हिस्सामा मात्र ८.४७ प्रतिशत छ। बजार पुँजीकरणका आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को शीर्ष स्थानहरूमा रहने यस कम्पनीको सर्वसाधारणसँग निकै कम शेयर हुँदा बजारमा यसको आपूर्ति न्यून थियो।
जेठ १६ गतेसम्मको नेप्सेको तथ्यांक अनुसार यस कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ भने १८ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत छ। सरकारले ठुलो परिमाणमा सर्वसाधारणमा कम्पनीको शेयर ल्याउने घोषणा गरेसँगै लगानीकर्ताहरू उत्साहित देखिएका छन्। यति ठुलो र बलियो कम्पनीको शेयर आपूर्ति बढेपछि बजारमा हुँदै आएका अस्वाभाविक चलखेल रोकिने र सर्वसाधारणले सहजै शेयर किन्ने अवसर पाउने भन्दै यस्तै बजेट शेयर बजारका लागि अत्यन्तै सकारात्मक हुने लगानीकर्ताहरूको भनाइ छ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था?
नेपाल टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) ०८२/८३ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी र खुद नाफा दुवै बढेको छ। सो अवधिसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब २७ करोड २९ लाख पुगेको छ। गत आवको सोही अवधिमा यस्तो मुनाफा ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ थियो। चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल सञ्चालन आम्दानी २५ अर्ब ९२ करोड ९६ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २५ अर्ब ३१ करोड ७६ लाख थियो। कम्पनीको नाफा र आम्दानी वृद्धिसँगै प्रतिशेयर आम्दानी समेत ४२.३ रुपैयाँबाट बढेर ४६.४७ रुपैयाँ पुगेको छ।
हरेक वर्ष उच्च प्रतिफल
नेपाल टेलिकमले हरेक वर्ष जसो आफ्ना शेयरधनीलाई लोभलाग्दो प्रतिफल दिँदै आएको छ। कम्पनीले चार वर्षदेखि लगातार लगानीकर्ताहरू लाई उच्च प्रतिफल दिँदै आएको नेप्से तथ्यांकले देखाउछ। कम्पनीले गत आर्थिक वर्ष ०८१/८२ मा आफ्ना शेयरधनीलाई ३० प्रतिशतका दरले नगद लाभांश घोषणा गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। त्यससँगै आर्थिक वर्ष २०७९/८० र २०७८/७९ मा समेत कम्पनीले ४० प्रतिशतका दरले नगद लाभांश घोषणा गरेको थियो।






About Us
प्रतिक्रिया