फागुनसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या ६९ लाख २३ हजार ४ सय ४३ पुग्यो 


काठमाडौं – २०८२ फागुनसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ६९ लाख २३ हजार ४ सय ४३ पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज बुधवार सङ्घीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। सो  आर्थिक सर्वेक्षणका अनुसार,  यसमध्ये महिला ७.१ प्रतिशत र पुरुष ९२.९ प्रतिशत रहेका छन्।

आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १३.७ प्रतिशतले सङ्कुचन भई २ लाख ७३ हजार ५ सय ३० रहेको छ। त्यसैगरी यस अवधिमा वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १५.९ प्रतिशतले वृद्धि भई २ लाख ५१ हजार ९ सय ८३ पुगेको छ।

यस अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको सङ्ख्या ५ लाख २५ हजार ५ सय १३ पुगेको छ। यसमध्ये महिला १२.१ प्रतिशत र पुरुष ८७।९ प्रतिशत रहेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको सङ्ख्या ५ लाख ३४ हजार ४ सय ७१ रहेको थियो।

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १०.० प्रतिशतले बढेर ५ लाख ५ हजार ९ सय ५७ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १८.५ प्रतिशतले बढेर ३ लाख ३३ हजार ३ सय ९ पुगेको थियो।