काठमाडाैं – काँस फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडाैं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छिन्। कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा भाग लिन जान लागेकी हुन्। फेस्टिभलका विभिन्न सत्रका कार्यक्रममा भाग लिएर उनी ८ गते स्वदेश फर्कने कार्यक्रम छ।
काँस र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन्। कान्सका मेयरले कार्यवाहक प्रमुख डङ्गोललाई पठाउनुभएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो। फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ।’
प्रमुख डंगोल फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनेछिन्। त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ। यस वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको इलिफेन्ट इन द फग चलचित्र प्रदर्शन हुँदैछ।
राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)बाट वि. सं. २०८० कार्तिक १४ गते काठमाडौं महानगरपालिका चलचित्र सहर सञ्जालको सदस्य नगरका रूपमा चयन भएको हो। यो वर्ष विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रूपमा थप नाम सार्वजनिक गरियो । यही बेला काठमाडौँ महानगरसहित विश्वका २६ वटा नगर चलचित्र विधाबाट सदस्य भए। रचनात्मक सहरको विश्व सहर सञ्जालमा १ सय भन्दा धेरै देशका ४ सय वटा सहरहरू आबद्ध छन्।
रचनात्मक उद्योगमा चलचित्र, सङ्गीत, डिजाइन, शिल्प तथा लोक कला, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला लगायत विधामा सदस्यता प्रदान हुने गरेको छ। चलचित्र सहरका रूपमा सबैभन्दा पहिले छानिएको सहर संयुक्त राज्य वेलायतको व्राडफोर्ड हो। यो सन् २००९ मा छनोट भएको हो। सन् २०१० मा अष्टे«लियाको सिड्नी छानियो। सन् २०१४ मा यस विधामा ३ वटा सहर छानिए। जसमा दक्षिण कोरियाको बुसान, आयरल्याण्डको गल्बे र बुल्गेरियाको सोफिया छन्। सन् २०१५ मा ३ वटा सहर छानिए।
जसमा नर्थ म्याकाडोनियाको विटोला, इटालीको रोम र ब्राजिलको सान्तोस छन्। सन् २०१७ मा संयुक्त राज्य बेलायतको ब्रिस्टोल, पोल्याण्डको लोज, चीनको क्वान्दो, स्पेनको टेरेसा र जापानको यामागाता गरी ५ वटा नगर छानिए । सन् २०१९ मा भारतको मुम्बइ, जर्मनको पोष्टडाम, बोस्निया हर्जगोभियाको साराजेभो, स्पेनको भालाडोलिड र न्युजिल्याण्डको वालिङ्टन गरी ५ वटा सहर छानिएका हुन्। सन् २०२१ मा ३ वटा सहर चलचित्र विधामा छानिए । जसमा पोल्याण्डको ग्ड्यानिया, फ्रान्सको क्यानेस र रोमानियाको क्लुज नेपोका छन्।






About Us
प्रतिक्रिया