स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो


काठमाडौं – नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ। महालेखापरीक्षकको कार्यालयको ३३औँ वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक हजार नौ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो। त्यसमा जम्मा ९७ लगानीकर्ताबाट मात्रै ११ अर्ब ३० करोड रुपैयाँ मात्र भित्रिएको छ। यो स्वीकृत लगानीको १४ प्रतिशत हो।

सार्वजनिक प्रतिवेदनअनुसार पछिल्लो समय वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात क्रमशः घट्दो देखिएको छ। आव २०७९/८० मा स्वीकृत ३२ अर्ब ४८ करोड रुपैयाँको प्रस्तावमध्ये नौ अर्ब २० करोड रुपैयाँ प्राप्त भएको छ। जुन समग्रमा २८ प्रतिशत हो।

त्यस्तै,आव २०८०\८१ मा स्वीकृत भएको लगानीको जम्मा १३ प्रतिशत मात्रै प्राप्त भएको देखिन्छ। सो आवमा ८१ अर्ब ६९ करोड रुपैयाँको लगानी स्वीकृत भएकामा १० अर्ब २९ करोड रुपैयाँ मात्रै प्राप्त भएको थियो। यो तथ्याङ्कले वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिबीचको विवरण फराकिलो हुँदै गएको देखाउँछ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन र लगानीमैत्री वातावरण निर्माण गरी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ।