काठमाडौं – नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको नयाँ अध्याय सुरु हुन थालेको छ। विश्वप्रसिद्ध होटल समूह एक्युर अन्तर्गतको आधुनिक लाइफस्टाइल ब्राण्ड ट्राइब अब काठमाडौंको बुढानीलकण्ठमा सञ्चालनमा बन्ने भएको हो। दक्षिण एशियामै पहिलो पटक नेपालमा भित्रिन लागेको यो ब्राण्डलाई होटल सब्रिना लिमिटेडले साझेदारीमा विकास गर्न लागेको हो।
नेपालको पर्यटन बजारमा पछिल्लो समय अन्तर्राष्ट्रिय होटल ब्राण्डहरूको चासो बढिरहेका बेला ट्राइबजस्तो विश्वस्तरीय ब्राण्ड नेपालमा आउनु आफैंमा ठूलो उपलब्धि मानिएको छ। विशेषगरी विश्वका ११० भन्दा बढी देशमा आफ्नो प्रभावशाली उपस्थिति बनाएको अकोर समूहअन्तर्गतको ब्राण्ड नेपालमा भित्रिनु नेपाली पर्यटन क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वासको संकेतका रूपमा हेरिएको छ।
यस परियोजनाका लागि होटल सब्रिना लिमिटेड र अकोर समूहअन्तर्गत ट्राइब ब्राण्डका प्रतिनिधिबीच होटल निर्माण तथा सञ्चालनसम्बन्धी सहमतिमा औपचारिक हस्ताक्षरसमेत सम्पन्न भइसकेको छ। दुबै समूहका आधिकारिक प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न हस्ताक्षर कार्यक्रमलाई नेपालको पर्यटन क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
सन् २०२९ सम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण हुन लागेको ट्राइब काठमाडौं बुढानीलकण्ठ लाई नेपालको आधुनिक पर्यटन नक्सामा नयाँ पहिचान दिने परियोजनाका रूपमा चर्चा गर्न थालिएको छ। परियोजनाको नेतृत्व होटल साब्रिना लिमिटेडका अध्यक्ष निराजन थापाले गरिरहेका छन्।
अध्यक्ष थापाले नेपालको आर्थिक विकासको सबैभन्दा बलियो आधार पर्यटन नै भएको स्पष्ट धारणा राख्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरको आतिथ्य गन्तव्य बनाउने उद्देश्यसहित परियोजना अघि बढाइएको बताए।
“नेपाल संसारकै अनुपम प्राकृतिक सौन्दर्य भएको देश हो। यहाँ हिमाल छ, संस्कृति छ, अध्यात्म छ, जैविक विविधता छ। यति धेरै सम्भावना हुँदाहुँदै पनि हामीले पर्यटनलाई विश्वस्तरीय ढंगले प्रस्तुत गर्न सकेका छैनौँ। अब नेपाललाई गुणस्तरीय पर्यटनको केन्द्र बनाउनुपर्छ भन्ने उद्देश्यले हामीले ट्राइबजस्तो अन्तर्राष्ट्रिय ब्राण्ड ल्याएका हौँ,” अध्यक्ष थापाले भने।
उनका अनुसार अहिले विश्वभरका पर्यटकहरूको रुचि बदलिँदै गएको छ । पर्यटकहरू केवल बस्ने होटल होइन, अनुभव खोजिरहेका छन्। आधुनिक डिजाइन, सामाजिक वातावरण, स्थानीय संस्कृति, आरामदायी सुविधा र अन्तर्राष्ट्रिय स्तरको सेवा एउटै स्थानमा चाहने नयाँ पुस्ताका यात्रुलाई लक्षित गर्दै ट्राइब अवधारणा नेपालमा ल्याइएको उनले बताए।
थापाले आफूहरू होटल व्यवसायमा नयाँ नभएको उल्लेख गर्दै आतिथ्य क्षेत्रमा पहिलेदेखिको अनुभव र सक्षम व्यवस्थापन टिमका कारण यो परियोजना सफल हुने दाबी गरे। ‘हामीसँग होटल सञ्चालनको लामो अनुभव छ । हाम्रो नेपाली टिम अनुभवी छ भने अन्तर्राष्ट्रिय साझेदार समूहको अनुभव झन् बलियो छ। अकोरजस्तो विश्वप्रसिद्ध समूहसँगको सहकार्यले हामीलाई थप आत्मविश्वास दिएको छ। हामी परिणाममुखी ढंगले काम गर्छौँ,’उनले भने।
उनका अनुसार ट्राइब काठमाडौं बुढानीलकण्ठ केवल होटल मात्र नभई काठमाडौंकै नयाँ ‘लाइफस्टाइल डेस्टिनेशन’ बन्नेछ। यहाँ बस्ने पाहुनाले आधुनिक सुविधा मात्र होइन, सामाजिक घुलमिल, सांस्कृतिक अनुभव र अन्तर्राष्ट्रिय वातावरणको अनुभूति गर्न सक्नेछन्। उक्त होटलका निर्देशकहरू स्मृति पालिखे र सन्जिता गुरुङ थापाले पनि नेपालको पर्यटन क्षेत्र नै देश विकासको दीर्घकालीन आधार भएको बताएका छन्।
निर्देशक स्मृति पालिखेले पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी विस्तार हुन आवश्यक रहेको बताइन्। ‘नेपालमा पर्यटनको सम्भावना विशाल छ। यो क्षेत्रले लाखौँ युवालाई रोजगारी दिन सक्छ, विदेशी मुद्रा भित्र्याउन सक्छ र नेपालको अन्तर्राष्ट्रिय छवि बलियो बनाउन सक्छ। त्यसैले हामीले पर्यटन क्षेत्रमा लगानी विस्तार गरेका हौँ,’ उनले भनिन्।
उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको सेवा र पूर्वाधार विकास गर्न सके पर्यटक बसाइ अवधि र खर्च दुवै बढ्ने बताइन्। ‘अब केवल पर्यटक भित्र्याउने होइन, गुणस्तरीय अनुभव दिने समय आएको छ,’ उनको भनाइ छ। त्यस्तै, निर्देशक सन्जिता गुरुङ थापाले नेपालमा आउने पर्यटकको चाहना बदलिँदै गएको बताउँदै आधुनिक आतिथ्य सेवामा लगानी गर्नु समयको आवश्यकता भएको बताइन् ।
“अहिलेका पर्यटकले केवल कोठा खोज्दैनन् । उनीहरूले अनुभव खोजिरहेका हुन्छन् । आराम, डिजाइन, संस्कृति, खानपान, सामाजिक वातावरण र डिजिटल सुविधा सबै एउटै स्थानमा चाहिन्छ । ट्राइबले त्यही नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्छ,” उनले भनिन् ।
निर्माण सम्पन्न भएपछि होटलमा १०० भन्दा बढी आधुनिक कोठा रहनेछन् । साथै अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेन्ट, विशेष बार, स्वीमिङ पुल, स्पा, फिटनेस सेन्टर तथा करिब ८०० वर्गमिटर क्षमताको इभेन्ट स्पेस रहनेछ ।
परियोजनालाई बुढानीलकण्ठ क्षेत्रमा ल्याइनु पनि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ । पछिल्लो समय बुढानीलकण्ठ क्षेत्र शान्त वातावरण, हरियाली, उच्चस्तरीय आवास तथा धार्मिक,सांस्कृतिक पर्यटनका कारण विदेशी पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ ।
पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तूपा तथा शिवपुरी राष्ट्रिय निकुञ्जसँगको सहज पहुँचका कारण पनि यो क्षेत्रलाई नयाँ पर्यटन ‘हटस्पट’का रूपमा हेरिन थालिएको छ । काठमाडौंको भीडभाडबाट नजिक तर शान्त वातावरण खोज्ने विदेशी पाहुनाका लागि यो क्षेत्र आकर्षक बन्ने अपेक्षा गरिएको छ ।
विशेषगरी डिजिटल नोमाड, लामो समय बस्ने विदेशी पाहुना, वेलनेस टुरिजम तथा अध्यात्ममा रुचि राख्ने पर्यटकलाई लक्षित गर्दै होटलको अवधारणा तयार गरिएको जनाइएको छ ।
विश्वव्यापी रूपमा होटल तथा आतिथ्य क्षेत्रमा अकोर समूहको प्रभाव अत्यन्त ठूलो मानिन्छ। लक्जरीदेखि इकोनोमी सेग्मेन्टसम्मका विभिन्न ब्राण्ड सञ्चालन गर्दै आएको अकोर समूह विश्वका प्रतिष्ठित होटल कम्पनीमध्ये एक हो। यस्तो समूहअन्तर्गतको ट्राइब ब्राण्ड नेपालमा आउनु नेपाली पर्यटन उद्योगका लागि ठूलो अवसरका रूपमा हेरिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय ब्राण्डको आगमनले नेपालप्रति विश्वको विश्वास बढाउने, विदेशी लगानी आकर्षित गर्ने तथा नेपालको आतिथ्य क्षेत्रलाई नयाँ स्तरमा पुर्याउनेछ। विशेषगरी ट्राइबजस्तो आधुनिक र डिजाइन केन्द्रित ब्राण्ड नेपालमा आउनुले काठमाडौंलाई दक्षिण एशियाकै उदीयमान लाइफस्टाइल गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय समूहलाई नेपालमा ल्याउन सफल हुनु होटल सब्रिना लिमिटेडका अध्यक्ष निराजन थापा र उनको टिमको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नेपालको पर्यटन क्षेत्रमा नयाँ सम्भावना, अन्तर्राष्ट्रिय लगानी र विश्वस्तरीय ब्राण्ड भित्र्याउन खेलेको भूमिकाका लागि थापा र उनको टिम धन्यवादका पात्र बनेका छन्।
पछिल्लो समय नेपालमा साहसिक पर्यटन, अध्यात्मिक यात्रा, वेलनेस टुरिजम तथा डिजिटल नोमाड संस्कृतिको विस्तारसँगै अन्तर्राष्ट्रिय होटल समूहहरू नेपालप्रति आकर्षित हुन थालेका छन्। यही क्रममा ट्राइब काठमाडौं बुढानीलकण्ठलाई नेपालको पर्यटन भविष्यसँग जोडिएको महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ।
अध्यक्ष निराजन थापाले नेपालमा गुणस्तरीय पर्यटन पूर्वाधार निर्माण गर्न सके देशको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सकिने बताए। ‘पर्यटन केवल होटल व्यवसाय होइन, यो देशको आर्थिक मेरुदण्ड बन्न सक्ने क्षेत्र हो। हामी केवल भवन बनाइरहेका छैनौँ, नेपालको पर्यटन भविष्यप्रतिको विश्वास निर्माण गरिरहेका छौँ,’ थापाले भने।






About Us
प्रतिक्रिया