काठमाडौं – विश्वविख्यात फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को चर्चित लाइफस्टाइल ब्रान्ड ‘ट्राइब’ (Tribe) अब नेपालमा पनि सञ्चालन हुने भएको छ। सब्रिना होटल लिमिटेडले यो अन्तर्राष्ट्रिय ब्रान्डलाई नेपाल भित्र्याउन लागेको हो।
यस सम्बन्धमा सब्रिना होटल लिमिटेड र ट्राइब होटलबीच भारतको राजधानी नयाँ दिल्लीमा औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, काठमाडौंको बुढानिलकण्ठमा अवस्थित सब्रिना होटल अब ‘ट्राइब काठमाडौं’ (Tribe Kathmandu) को नामबाट सञ्चालन हुनेछ। हाल यो होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्ने कार्य भइरहेको छ। ट्राइब ब्रान्डको नेपालमा यो नै पहिलो प्रोजेक्ट हो।
विशेष कुरा त के छ भने, यो ब्रान्ड छिमेकी देश भारतमा सुरु हुनुअघि नै नेपालमा प्रवेश गरेको हो। हाल थाइल्याण्ड, इन्डोनेसिया र कम्बोडिया जस्ता एसियाली देशहरूमा यसको बलियो उपस्थिति रहेको छ।
सब्रिना होटलका अध्यक्ष निराजन थापाले एकोरसँगको यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै काठमाडौंमा आधुनिक अतिथि सत्कारको माग बढ्दै गएको बताए। उनका अनुसार, ट्राइब ब्रान्डले आधुनिक यात्रुहरूको डिजाइन, आराम र सामाजिक अनुभवको आवश्यकतालाई पूर्ण रूपमा सम्बोधन गर्नेछ।
उदीयमान पर्यटकीय क्षेत्रहरूमा फरक र उत्कृष्ट सेवा दिने भिजनका साथ यो कदम चालिएको र आगामी दिनमा यो होटल एक महत्वपूर्ण ल्यान्डमार्क लाइफस्टाइल गन्तव्य बन्ने उनको विश्वास छ।
आधुनिक डिजाइन, व्यावहारिक सुविधा र सामाजिक स्पेसका लागि विश्वभर चर्चित ट्राइब ब्रान्डका हाल विश्वभर २७ वटा होटल सञ्चालनमा छन्। सुलभ मूल्यमा उच्च गुणस्तरीय र विशिष्ट अनुभव प्रदान गर्ने यसको विशेषताले गर्दा यो ब्रान्ड नयाँ पुस्ताका पर्यटकहरूमाझ निकै लोकप्रिय छ।






About Us
प्रतिक्रिया