काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान राखेका छन्। बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद साम्पाङले प्रधानमन्त्री आफैं जवाफ दिनका लागि उपस्थित हुनुपर्ने बताए।
सांसद साम्पाङले प्रधानमन्त्री सदनमा नआउनु संसद्को मर्यादा र परम्परा विपरीत भएको बताए। ‘उहाँ (प्रधानमन्त्री) यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नुभएन,’ सांसद साम्पाङले भने, ‘तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहीँ विश्वास लिएको छु।’
यदी प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने उनले बताए । उनले सामाजिक परम्पराको प्रसङ्ग उठाउँदै आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन नमिल्ने तर्क गरे।
‘यदी प्रधानमन्त्री सदनमा जवाफ दिन आउनुहुन्न भने श्रम संस्कृति बाहिरिनेछौं। हामीले अरुबाट सुन्नुपर्ने स्थिति होइन,’ सांसद साम्पाङले, ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ। काग कराइरहन्छ, पिना सुक्दै गर्छ भनेर हुँदैन ।’






About Us
प्रतिक्रिया